धौलागिरिमा अस्पालमा पहिलोपटक हाड्डीको सफल प्रत्यारोपण

RSS
39
Shares

बागलुङ । धौलागिरि अस्पालमा पहिलोपटक हाड्डीको सफल प्रत्यारोपण भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो ।

बरेङ गाउँपालिका–१ का ५६ वर्षीय मनबहादुर छन्त्यालको गेडी फेरेर धातुको राखिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा नवीन पौडेलले बताए । घटना भएर उपचारमा आएका उनको अस्पताल भर्ना भएको तेस्रो दिनमै सफल शल्यक्रिया सम्पन्न भएको हो ।

वीर अस्पतालमा काम गरेको अनुभव भएका डा. पौडेल नेतृत्वमा अन्य डाक्टर र नर्ससमेत मिलेर शल्यक्रिया सफल बनाएको पौडेलले जानकारी दिए । “अस्पताल स्थापना भएपछि यति जटिल शल्यक्रिया भएकै थिएन”, उनले भने, “पहिलोपटक हामीले सफलता पाएकाले धेरैले धन्यवाद पनि दिए ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानाले अस्पतालमा जटिल शल्यक्रिया सफल बनाएर बिरामीको विश्वास जित्न सकिएको बताए ।

न्यून आर्थिक अवस्था भएकाले छन्त्याल पोखरा वा अन्य शहरी क्षेत्रमा जान सकेका थिएनन् । धौलागिरि अस्पतालमा आउने बित्तिकै उनलाई बागलुङमै उपचार सम्भव छ भनेर चिकित्सकले सल्लाह दिएपछि यही भर्ना भएर बसेका थिए । उनको सफल शल्यक्रिया भएकाले तीनचार दिनमा हिँड्न सक्नेसमेत पौडेलले बताए । “पहिला विस्तारै हिँड्ने प्रयास गर्ने र त्यसपछि क्रमशः हिँड्न सक्नुहुन्छ”, पौडेलले भने, “कम खर्चमा जिल्लामै उपचार सम्भव गराउन सकिएकोमा सिङ्गो टिम पनि खुशी छौँ ।” यो अभियानमा डा. प्रतीक आचार्य, विनित ढकाल र अर्का डा. नवीन पौडेलनै सहभागी थिए । नर्सतर्फ देवी भट्टराई नेतृत्वमा पाँच सहभागी थिए ।

शल्यक्रिया सफल बन्नुमा कार्यालय सहयोगीसमेतको सामूहिक प्रयास रहेको उनले बताए । पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टर बस्न थालेपछि शल्यक्रियालगायत सेवा प्रवाह भइरहेको छ ।

रत्न श्रेष्ठ पुरस्कार बानियाँलाई

यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्वसांसदसमेत रहेका लेखक चन्द्रप्रकाश बानियाँको भौज्याहा (निबन्ध सङ्ग्रह)लाई प्रदान गरिने भएको छ । मोफसलबाट राष्ट्रियस्तरमा दिइने पहिलो पुरस्कार हो रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गरेको छ । बनियाँको महारानी उपन्यासले यस वर्ष मदन पुरस्कार पाएको थियो ।

गुठीको बुधवार बसेको सभाले पुरस्कार छनोट गर्नका लागि गठित समितिको सिफारिस अनुमोदनसहित पुरस्कार घोषणा गरेसँगै बानियाँले पुरस्कार पाउने भएका हुन् । रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार पूर्वीय दर्शनको पुनःव्याख्या कृतिका लागि बागलुङका डा. प्रमोद ढकाललाई प्रदान गर्ने निर्णय भएको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाले बताए ।

यसैगरी, यस वर्षको धौलागिरि प्रतिभा पुरस्कार पर्वत फलेवास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको फुर्लुङ उपन्यास, जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार जीवन दर्शनको रुपरेखा कृतिका लागि प्राध्यापक डा. रमेशचन्द्र अधिकारी र गुरु गणेश विष्णु स्मृति पुरस्कार पिपिरी उपन्यास लेखक बागलुङ बलेवाका मीनराज बसन्तलाई प्रदान गर्ने सभाले निर्णय गरेको संस्थापक संरक्षक छोटाले जानकारी दिए ।

रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारको राशि नगद ५० हजार छ भने अन्य पुरस्कारको राशि नगद २५र२५ हजार छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङका साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्ना दिवङ्गत माता रत्नकुमारी श्रेष्ठको स्मृति र सम्मानमा विसं २०३७ मा स्थापना गरेका थिए । नारी स्रष्टा सन्तु श्रेष्ठले आफ्ना माता चन्द्रकुमारी श्रेष्ठ र बुबा जगतबहादुर श्रेष्ठको स्मृतिमा जगतचन्द्र स्मृति पुरस्कार कोष गुठीकै संरक्षणमा सञ्चालन गर्ने गरी विसं २०५८ मा र गुरु गणेश विष्णु स्मृति पुरस्कार चन्द्रकुमारी श्रेष्ठ र भरतकुमार श्रेष्ठले स्थापना गरेका थिए । पुरस्कारका लागि देशभरबाट विभिन्न बिधाका ३५ वटा कृति प्राप्त भएको र त्यसबाट उत्कृष्ट छनोट गरिएको साहित्यकार छोटाले बताए ।

सभाबाट घोषित पुरस्कार आगामी फागुन ७ गते एक विशेष समारोहका बीच प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार गुठीका सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिए । आफ्ना दिवङ्गत आमाबुबाको सम्झना र नेपाली भाषा, साहित्य, कला र संस्कृति उत्थानमा लागेका साहित्यकार सम्मानमा पुरस्कार कोषको व्यवस्था गरिएको सदस्य सचिव प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?