प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन : यी रुट प्रयोग गर्दैछन् आन्दोलनकारी, सवारी आवागमन प्रभावित !

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – नेपाल पक्षले आह्वान गरेको विरोध प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट शुरु गर्ने अन्तिम तयारी भएको छ ।

विरोध प्रदर्शनका लागि प्रचण्ड – नेपाल पक्षका नेता कार्यकर्ता विभिन्न जिल्लाबाट काठमाडौं पनि आएका छन् । विरोध प्रदर्शन शुरु गर्ने तयारीमा प्रचण्ड नेपाल पक्षिय कार्यकर्ता भेला हुने क्रम बढेका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट ‘डाईभर्सन’ गरिएको प्रहरीले जनाएको छ ।

नेकपाको प्रचण्ड – नेपाल समूहले काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध शुरु गर्ने तयारी गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका र जुलुसलाई मर्यादित बनाउनका लागि निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिएको सङ्घर्ष समितिका संयोजक श्रेष्ठले लोकपथसँग बताए ।

अघिल्लो पटक प्रधानमन्त्री र राष्टपतिविरुद्ध अमार्यादित नारा लगाएर आलोचित बन्न पुगेको प्रचण्ड(नेपाल पक्षले यसपटक सो गल्ती हुन नदिन सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । संयोजक श्रेष्ठले थपे, ‘विरोध प्रदर्शन र सभा मर्यादीत बनाउनका लागि बुधबार सात बुँदे निर्देशिका जारी गरिसकिएको छ ।’

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेपछि प्रचण्ड – नेपाल पक्षलेले विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनमा सहभागी हुनेहरूलाई विभिन्न ‘आर्क’ तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ। सोहीबमोजिम भेला भएका नेता कार्यकर्ताले सरकारको विरोधमा व्यापक प्रदर्शनको तयारी गरिरहेका छन् ।

विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ । file : photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?