प्रचण्ड-नेपाल पक्षको प्रदर्शन : भेला हुँदै कार्यकर्ता, मनलाग्दो नारा लगाउन नपाइने !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शनका लागि प्रचण्ड – नेपाल पक्षका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला हुन थालेका छन् । यसैकारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट डाईभर्सन गरिएको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहले आज बिहान ११ बजे काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका र जुलुसलाई मर्यादित बनाउनका लागि निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक श्रेष्ठले लोकपथसँग बताए । अघिल्लो पटक प्रधानमन्त्री र राष्टपतिविरुद्ध अमार्यादित नारा लगाएर आलोचित बन्न पुगेको प्रचण्ड-नेपाल पक्षले यसपटक सो गल्ती हुन नदिन सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । संयोजक श्रेष्ठले थपे, ‘विरोध प्रदर्शन र सभा मर्यादीत बनाउनका लागि बुधबार सात बुँदे निर्देशिका जारी गरिसकिएको छ ।’

संघर्ष समितिले पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन, मोर्चालगायत सांगठनिक संरचनाहरूलाई सभामा सहभागी हुन निर्देशन दिएको थियो । सोहीबमोजित विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेपछि प्रचण्ड – नेपाल समूहले विरोध प्रदर्शन गर्दै आएको छ । प्रचण्ड पक्षले आजको विरोध सभा सशक्त बनाउने घोषणा गरेको छ । प्रचण्ड पक्षले पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्ने बताएको छ । आन्दोलनमा सहभागी हुनेहरूलाई विभिन्न ‘आर्क’ तोकिएको छ ।

जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।

रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले विश्वास लिएको छ ।

विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?