बागमती प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुने

हेटौँडा । अनिश्चितकालका लागि स्थगित गरिएको बागमती प्रदेश सभा बैठक आज (शुक्रवार) बस्ने भएको छ। बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

बिहिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दाहाल–नेपाल समूहका सांसदहरुले दबाब दिएपछि सभामुख श्रेष्ठले शुक्रवार १ बजेका लागि बैठक बोलाएका हुन्। आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिने मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका प्रदेश सांसदहरुले गत पुस १० गते ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?