प्रचण्ड नेपाल समूहको विरोध प्रदर्शन : कुन नेता कहाँबाट सहभागि हुँदैछन् ?

लोकपथ
0
Shares

काठमाडौं – संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले माघ ९ गते भोली (शुक्रवार) काठमाडौंमा बृहत विरोध प्रदर्शन गर्दैछ । यसैबीच प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन प्रचण्ड – नेपाल पक्षले एक निर्देशिका जारी गरी नियमसंगत तरीकाले अघि बढ्न सबैमा अपिल गरेको छ ।

‘जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।’ केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विरोध प्रदर्शन र सभा मर्यादीत बनाउनका लागि हिजो बुधबार सात बुँदे निर्देशिका जारी गरिसकिएको बताए ।

प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भएको छ । यस्तै प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ।

आन्दोलनमा सहभागी हुनेहरूलाई विभिन्न ‘आर्क’ तोकिएको छ ।

जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।

रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले विश्वास लिएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।

सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क – बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?