क्यानले सुम्पियो नवनियुक्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी

काठमाडौं । खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले आज (बिहीवार) अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुक्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो ।

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमन पछि रिक्त भएको पदमा अस्ट्रेयाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार एक कार्यक्रम गरी प्रशिक्षकलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको कार्यक्रममा नवनियुक्त प्रशिक्षक वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताए ।

यस अघि पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका प्रशिक्षक वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । सन १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर टोलीका मुख्य प्रशिक्षक रहेका थिए । तर सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बावेले कमजोर प्रदर्शन गरेपछि त्यहाँको क्रिकेट संघले वाटमोरलाई बर्खास्त गरेको थियो । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरी नियुक्त गरेको हो । एक वर्षे सम्झौतामा नेपाल आएका वाटमोरले युवा र अनुभवि खेलाडीलाई संयोजन गरी टोलीलाई प्रशिक्षण दिन बताए ।

व्यक्तिगत क्रिकेट करियरमा वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । नेपाली टोलीले प्राप्त गरेको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्ट रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिए ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीवार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदान भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?