ठेकेदारको लापरवाहीले भवन निर्माणमा ढिलाइ

RSS
0
Shares

खोटाङ । निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ ।

नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा बाहेक अरु निर्माण हुन सकेको छैन । तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले विसं २०७७ पुस मसान्तमा सक्ने गरी नगरपालिकाको ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण शुरु गरिएको थियो ।

यस अन्तर्गत वडा नम्बर– १३ नूनथला र वडा नं– १२ जालपामा बाहेक अन्य वडाको भवन तोकिएको समयमा कसैले निर्माण सम्पन्न गरेका छैनन् । करीब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य बस्ने चार कोठे भवन बनाउन नगरपालिकाले जिम्मा दिएको निर्माण कम्पनीले निर्माणमा ढिलाइ गर्दा समयमा हस्तान्तरण हुन नसकेको जनाइएको छ ।

नूनथला र जालपामा भने सम्झौता गरेको मितिभन्दा अगावै सजिव निर्माण सेवाका प्रतिनिधि प्रकाश नाछिरिङले सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । प्रोपाइटर प्रकाश थापा रहेको सजिव निर्माण सेवाले सम्झौता गरेको नगरपालिका–१५ विजयखर्कको भवनसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाको योजना शाखा प्रमुख सीताराम आचार्यले बताए ।

यस्तै, केशव तमोटको ईन्द्रलक्ष्मी कन्ट्रक्सन र दिनेश पौडेलको पीआर कन्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नं–१ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ । वडा नं–२ सोल्माको भवन भने अन्तिमचरणमा पुगेको नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिए । वडा नं ४ खाल्लेमा भर्खर घडेरी मात्र सम्याएर छाडिएको जनाइएको छ । स्थान विवादका कारण भवन निर्माण कार्यमा ढिला भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

यता कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नं ७ दोर्पा, वडा नं ८ बुवासुङ तथा वडा नं ९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्तै रहेको छ । वडा नं ७ दोर्पाको भवन अन्तिमचरणमा पुगेको नगरपालिका स्रोतेले जनाएको छ ।

वडा नं ८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको जनाइएको छ । वडा नं ९ निर्मलीडाँडामा भने भर्खरै डिपिसि मात्र गरिएको वडा सचिव सञ्जीव मुग्रातीले बताए । उक्त भवन निर्माणका लागि शुरुमा दिलचक्र राईले काम हेरे पनि अहिले रमाहाङ राईले काम गरिरहेको उनले जानकारी दिए ।

यसैगरी, जोसेफ रिजालको मोहोन एण्ड ब्यासीगाउँ निर्माण सेवाले ठेक्का लिएको वडा नं १० पाथेका र वडा नं ११ खार्मीको भवन भने अलपत्र अवस्थामा छ । पाथेकामा बन्ने भनिएको भवनको पिलरसम्म उठाइएको छ भने, खार्मीको भवनको डिपिसी लेबलसमेत नउठेको त्यहाँका स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गरिसक्नुपर्नेमा केही वडा सकिएको तथा केही अन्तिमचरणमा र केहीमा भने अति सुस्तगतिमा निर्माणको काम भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “वडा कार्यालय निर्माण गर्न गरिएको सम्झौता मिति सकिए पनि कानून त अब तीन महिना थपिने छ”, उनले भने, “थपिएको समयमासमेत काम सम्पन्न नभएमा कानून अनुसार कारवाही गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राखिने छ ।” वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले प्रत्येक वडामा ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । जालपाको भवन ठेकेदार कम्पनीले ४७ लाखमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको वडाध्यक्ष विकास राईले बताए ।

पन्ध्र वडा रहेको यस नगरपालिकाको वडा नं ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइँपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् । जिल्लाकै सबैभन्दा ठूलो यस नगरपालिकामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरिएको हो ।

दिप्रुङ चुइचुम्माका ११ प्रस्तावित माविको स्तरोन्नति

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्वीकृत माविमा स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोद्वय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो ।

हालसम्म मावि तहको पठनपाठन हुँदैआएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गतवर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सात वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रदोय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थियो । माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताए ।

अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि सामुदायिक तर्फ ९३ माध्यमिक विद्यालय सञ्चलनमा रहेको थियो ।

यसैबीच, साकेला गाउँपालिकाले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७-७८ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले प्राविधिकधारतर्फ तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्र र छात्रालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

तीन वर्षमा दश जना छात्र र छात्राका लागि २० लाख खर्च गर्नेगरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । छात्रवृत्ति गाउँपालिका भित्रका विद्यार्थीले मात्र पाउने छन् । साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्तिको कार्यक्रम ल्याएको थियो ।

छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँच वटै वडाका दुई÷दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्ररछात्रालाई प्रथामिकता दिएर छात्रवृत्ति उपलव्ध गराइने गाउँपालिका प्रमुख झङ्कारले बताए । गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन पुस २ गते सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?