ग्लोबल आइएमई बैंकले किन फिर्ता पठायो पूर्व डीआइजी ठकुरीको छोराको नाममा आएको पैसा ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीकी पत्नीले स्विट्जरल्यान्डबाट पठाएको रकम बैंकले फिर्ता गरिदिएको छ ।

संयुक्त राष्ट्रसंघमा कार्यरत ठकुरीकी पत्नीले छोराको नाममा रहेको ग्लोबल आइमई बैंकको खातामा पठाएको रकम खातावालालाई जानकारी नै नदिई फिर्ता पठाएको हो । पैसा फिर्ता गएपछि त्यस बापत उल्टो ४० हजार रुपैयाँ तिर्नुपरेको भन्दै ठकुरीले ट्वीट गरेका थिए ।

‘स्विटजरल्यान्डमा संयुक्त राष्ट्रसंघमा कार्यरत मेरी श्रीमतीले छोराको ग्लोबल आईएमई बैंकको खातामा पठाएको रकम खातावालालाई जानकारी नै नगराई फिर्ता पठायो । त्यसको जानकारी स्विटजरल्यान्डबाट भर्खर पाएँ र सटहीबापत रु.४० हजार पनि तिर्नुपर्‍यो ।’ ठकुरीले ट्वीटमा लेखेका छन् ।

त्यस्तै, उनले थप ट्वीट गर्दै भनेका छन्,‘यसरी बैंकमार्फत कानुनी रुपमा पठाएको पैसा कुनै जानकारी बिना फिर्ता पठाएबापत बैंकले कुनै जिम्मेवारी लिनुपर्छ कि पर्दैन मलाई थाहा छैन । हुन्डी किन फस्टाइरहेको छ, आफैं बुझे हुन्छ । जय होस् नेपाली बैंंकिङ व्यवस्थाको।’
के भन्छ राष्ट्र बैंक ?

राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले कुनै व्यक्तिले ट्वीट गरेकै भरमा समाधान खोज्न समस्या हुने भन्दै पिडितले राष्ट्र बैंकमा निवेदन दिनुपर्ने बताए । कुनै कारण नभइ बैंकले किन पैसा फिर्ता पठाउँथ्यो भन्दै फिर्ता पठाउनुमा कुनै कारण पक्कै भएको उनको बुझाई छ । तर पीडितले राष्ट्र बैंकमा निवेदन दिएपनि के भएको हो भन्ने बारेमा राष्ट्र बैंकले सोधखोज गर्ने कार्यकारी निर्देशक मिश्रको भनाई छ ।

यस विषयबारे जान्न लोकपथले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रत्नराज बज्राचार्यलाई पटक पटक फोन र एमएमएस मार्फत सम्पर्क गरेको थियो । तर सीइओ बज्राचार्यबाट कुनै प्रतिक्रिया आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?