बेतबाट बनेका सामानप्रति बढ्दो मोह

RSS
0
Shares

मोरङ । पछिल्लो समयमा बेतबाट बुनेका सामानप्रति मानिसको आकर्षण बढ्न थालेको छ । बढ्दो आकर्षणसँगै यसको व्यवसाय पनि फस्टाउँदै गएको छ ।

कम मेहनत र थोरै लगानीबाट शुरु हुने यो व्यवसायबाट नाम र दाम दुबै कमाउन सकिने पूर्वाञ्चल बेत बाँस उधोगका सञ्चालक लक्ष्मी श्रेष्ठको भनाइ छ । विसं २०४९ देखि विराटनगरस्थित बसपार्क छेउमा बेतका सामान बनाएर बेच्दै आइरहेकी व्यवसायी श्रेष्ठले बेतको उत्पादन नेपालमा कमै मात्रामा हुने गरेको जानकारी दिइन् । उनले बेतबाँसका सामान बनाउन छिमेकी राष्ट्र भारतबाट बेत मगाउने गरेको जानकारी दिइन् ।

बेतबाट कुर्सी, टेबल, ह्याङ्गर, सोफा, लठ्ठी, बच्चाको झलुङ्गा, पलङ, टुल, ढकीया, टेलिफोन राख्ने स्ट्याण्ड, मुढा, र्‍याक जस्ता सामान बन्ने गरेको छ । बेत खरीद गर्दा मुठाको हिसाबले खरीद गर्नुपरेको र एक मुठाको एक हजार २०० भारतीय रुपैयाँ पर्ने गरेको उनको भनाइ छ । उनका अनुसार एक मुठामा २० देखि २५ वटा बेत हुन्छन् । हेर्दा सजिलो व्यापार व्यवसाय भए पनि बेत ल्याउने झन्झटिलो छ । भन्सारमा धेरै समस्या झेल्नुपरेको अनुभव व्यवसायी श्रेष्ठको छ ।

शुरुमा व्यापार राम्रो नभए पनि यसप्रति बढ्दो मानवीय रुचि र आकर्षणले यो व्यापार फस्टाउँदै गएको छ । व्यापार पनि राम्रै चलेको अनुभव व्यवसायी श्रेष्ठको छ । “सामान बनाउनका लागि यहाँ दक्ष जनशक्ति वा मजदूरको अभाव छ”, उनले भनिन्, “यस कार्यका लागि भारतबाट मजदूर ल्याउनुपर्ने अवस्था छ ।” विशेषगरी चाडपर्व र बिहेको लगनका समयमा यसको सामान बनाउन भ्याइनभ्याइ हुन्छ, उनले भनिन् । मजदूर पाइए पनि बेतका सामान बनाउन तालीम प्राप्त कालीगढले मात्र सक्ने उनको भनाइ छ ।

यस उद्योगबाट उत्पादित सामान मोरङ, सुनसरी, झापा र धनगढी बजारसम्म बिक्री हुने गरेको व्यवसायी श्रेष्ठको भनाइ छ । बेतबाट बनेका बच्चाको झलुङ्गाको मूल्य तीन हजार ५०० देखि छ हजार, लुगा स्टेन्डको एक हजार ८०० देखि तीन हजार, मुढाको एक हजारदेखि दुई हजार २००, कुर्सीको एक हजार ८०० देखि चार हजार र सोफाको सेट २० हजारदेखि ५५ हजार पर्ने गरेको बताइएको छ ।

रोजगारको अभावमा वर्षेनी विदेशिने युवाले यस्ता सीप सिक्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सक्ने यहाँको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?