लमजुङमा भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनर्निर्माण सम्पन्न

RSS
0
Shares

लमजुङ । यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) लमजुङले जनाएको छ ।

सो विद्यालय पुनर्निर्माणका लागि ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनर्निर्माणका लागि आएको १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनर्निर्माणका लागि आएको कूल एक अर्ब १२ करोडमध्ये उक्त रकम खर्च भएको छ ।

एक सय २७ विद्यालयमध्ये १६६ भवन पुनर्निर्माण हुने र तीमध्ये ८५ वटा भवनको पुनर्निर्माण सम्पन्न भइसकेको र ८१ भवन निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पराजुलीको भनाइ छ । उनका अनुसार पुनर्निर्माण सम्पन्न भइसकेका विद्यालय भवनमध्ये २० कोठे भएका तीन वटा विद्यालय भवन गैरसरकारी संस्था गोरखा वेयलफेरयले निर्माण गरेको छ । तीसंस्थाले चार वटा विद्यालय भवनको पुनर्निर्माण गुर्नपर्ने छ ।

साउदी सरकारले बनाउन लागेको चार वटा विद्यालय भवन निर्माणाधीन रहेको इकाई प्रमुख पराजुलीको भनाइ छ । उनले भने, “३२ वटा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने ३६ वटा शौचालय निर्माणाधीन अवस्थामा रहेको छ ।” त्यस्तै, ३७ वटा खानेपानी धारा निर्माण गर्नुपर्नेमा ती सबै निर्माणाधीन अवस्थामा रहेको इकाइले जनाएको छ ।

चालू आर्थिक वर्षमा ८१ विद्यालय भवन, ३६ शौचालय र ३७ खानेपानी धाराको पुनर्निर्माण गर्ने लक्ष्य लिएको प्रमुख पराजुलीको भनाइ छ । जिल्लामा विद्यालय भवन पुननिर्माण आर्थिक वर्ष २०७३÷७४ बाट शुरु भएको थियो ।

उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनर्निर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेकोमा निर्धारित समयमै सम्पन्न हुन लागेको इकाइ प्रमुख पराजुलीले जानकारी दिए । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमा १२७ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?