अझै पाएनन् उखु किसानले बाँकी रकम : पटक पटक सम्झौता, कार्यान्वयन अझै भएन

RSS
0
Shares

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् ।

किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सरकारले किसानसँग २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । तर किसानले अहिलेसम्म पनि पूरै भुक्तानी पाउन सकेका छैनन् ।

जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब १७ करोडमध्ये ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको बताइएको छ । उद्योगीको खातामा करिब दुई करोड रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि करिब तीन करोड ५३ लाख तिर्न बाँकी रहेको देखिएको छ । यसरी सरकारले किसानलाई प्रत्येकपटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको भए पनि सम्झौताअनुसार आफूहरुले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए । सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर उक्त सम्झौता कार्यान्वयन नहुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएको नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष मैनालीले बताए ।

उखु बिक्रीवापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाडौंको माइतीघरमा गएर गर्मी जाडो केही नभनी आन्दोलन गर्ने गरेका छन् । किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ । त्यसैगरी स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले करिब आठ करोड रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरणमा गरी करिब २० करोड भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?