नेपाल आउने कोभिसिल्ड खोप कस्ता व्यक्तिले नलगाउने ?

कठमाडौँ । नेपालमा पहिलो पटक आज कोभिसिल्ड खोप आउँदै छ। खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज खोप भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको हो। खोप बिहान ११ बजे काठमाडौं आइपुग्ने बताइएको छ।

भारतमा खोप लगाएका केहि मानिसमा नकारात्मक असर देखिएपछि उत्पादक कम्पनीले केहि खास अवस्थामा खोप नलगाउन आग्रह गरेको छ ।  नयाँ दिल्लीमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ४ हजार ३ सय १९ जना मध्ये ५२ जनामा ‘साइड इफेक्ट’ देखिएको थियो।

एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन कम्पनीले सुझाव दिएको छ।

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिला तथा कोरोनाको अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले जारी गरेको फ्याक्ट सीटमा अनुरोध गरिएको छ ।

खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सुचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?