कृषिमा लगानी गर्न कृषि विकास बैंकलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा हुने लगानीको नेतृत्व गर्न निर्देशन दिएका छन् ।

बैंकको ५४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न निर्देशन दिएका हुन् । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा किसान एप तथा किसान क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । सो एप र कार्डको शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले आम किसानहरुले प्रविधिको प्रयोग गर्दै बैंक बैंकबाट सुविधा लिन सक्ने बताए ।

त्यस्तै, बैंकले कृषिमा लगानी गर्न स्रोत व्यवस्थापनका गर्न ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’को समेत अर्थमन्त्री पौडेलले सुभारम्भ गरेका छन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवातले डिजिटल भुक्तानीको नीतिलाई पूर्णता दिन सहयोग गर्ने बताएका छन् । ‘नेपाल सरकार र राष्ट्र बैंकले लिएको महत्वपूर्ण नीति डिजिटल नेपाल फ्रेमवर्क हो ।’ गभर्नर अधिकारीले भने । सरकारले मुलुकैभरी डिजिटल रुपमा कारोबार होस् भन्ने उद्देश्य राखेकाले बैंकको यस्तो प्रयासले थप बल पुग्ने बताए ।

त्यस्तै, उनले वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको जानकारी दिए । विगतका दिनको तुलनामा कृषि विाकास बैंक थप बलियो भएको भन्दै थप प्रतिस्पर्धी बन्न गभर्नर अधिकारीले सुझाए । बैंकको सकारात्मक प्रगति हुँदाहुँदै पनि अन्य वाणिज्य बैंकको तुलनामा प्रतिस्पर्धी हुन नसकेको उनको भनाई छ ।

त्यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैंकले पाएको नेतृत्वदायी भुमिकामा सहकार्य गर्न सबै बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको बताए । संघले कृषि विकास बैंककै संयोजकत्वमा अध्ययन कृषिमा लगानी संबन्धी समेत कमिटी गठन गर्ने अध्यक्ष दाहालको भनाई थियो ।

बैंकले सरकारको नीति तथा कृषि उत्पादन, बजार जोखिम कम गर्न मोबाइल एप मार्फत् बिउविजन, खेती प्रविधि तथा बजार मूल्य सम्बन्धी सुचना दिनुका साथै ऋणीको सहज पहँुच ‘किसान एप र किसान क्रेडिट कार्ड’ को सुरुवात गरेको जनाएको छ ।

बैंकले हालसम्म १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले कुल कर्जामध्ये २८ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?