कोभिडकाबीच कर्जा लगानीमा सुधार : पुषसम्म ३२ खर्ब ४४ अर्ब ऋण लगानी

काठमाडौं । कोभिडका कारण पूर्ण रुपमा प्रभावित बनेको कर्जा लगानीले गति लिन थालेको छ ।

कोभिडकै बीच सुरक्षाका मापदण्ड अपनाएर बजार तथा उद्योग व्यवसाय समेत निरन्तर संचालन भइरहेकाले कर्जाको माग बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पुष महिनामा वाणिज्य बैंकहरूले १ खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । सो अवधिमा गरिएको लगानीमध्ये अन्तिम साताको लगानी सबैभन्दा बढी देखिएको संघको तथ्यांकले देखाएको छ ।

वाणिज्य बैंकहरूले पुष २४ गतेदेखि २९ गतेसम्म ५९ अर्ब रुपैयाँ लागनी गरेका छन् । गत पुस १७ गतेसम्म ३१ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । संघका अनुसार पुसको २९ गते ८२ अर्ब रुपैयाँले कर्जा लगानी थपिएर ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । पुस महिनामात्रै बैंकहरूले ६२ अर्ब निक्षेप संकलन गरेको संघको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुले पुस २९ गतेसम्मे ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

पुषमा ओभरड्राफ्ट तथा शेयर मार्जिन कर्जाको माग बढेकाले कर्जा लगानी बढेको हो । बजारमा प्रशस्त तरलता छ । त्यसैमाथि ब्याजदर पनि सस्तो । त्यसैले शेयर कारोबारका लागि लगानीकर्ता ऋण लिएरै भएपनि शेयर बजारमा लगानी गर्दा कर्जा लगानीमा सुधार देखिएको हो ।

त्यस्तै,यस अवधीमा घर जग्गा कारोबारमा पनि सुधार आएको छ । त्यसैले पनि कर्जा लगानी बढेको संघको भनाई छ ।

कोभिडका कारण लामो समयसम्म लगानी गर्न नपाएर बैंकहरु तनाबमा थिए । निक्षेप संकलन बढ्ने तथा कर्जा लगानी नहुँदा बैंकमा तरलता थुप्रिँदा बैंकहरु लगानीका बिकल्प खोजिरहेका थिए । तर पछि विस्तारै अर्थतन्त्र चलायमान हुन थालेपछि कर्जा लगानी पनि बढ्न थालेको हो । कोभिडभन्दा पहिलेको अवस्थामा जस्तो कर्जा लगानी भएको छैन । तर कर्जा लगानीको वर्तमान अवस्था निकै सुधारात्मक भएको संघका अध्यक्ष भुवन दाहालले बताए ।

कोभिडको संक्रमणका कारण उच्च जोखिममा परेका ऋणीहरूले चालु पुँजीको आधारमा पाइने थप २० प्रतिशत कर्जा लिएर १० प्रतिशत ब्याज भुक्तानी समेत गरेका छन् । पर्यटन, होटल तथा यातायात क्षेत्रले कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न बैंकबाट थप कर्जा लिएका छन् । त्यसैले कर्जाको लगानीमा सुधार देखिएको हो ।

त्यस्तै, पुषको तुलनामा माघ महिनामा भने कर्जा लगानी केही मात्रामा खस्किएको देखिएको छ । बैंकहरुले माघ २ गतेसम्ममा ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।

माघमा भने कर्जा लगानी केही मात्रामा घटेकोे छ । माघ लागेपछि बैंकहरुको लगानी ८ अर्बले घटेको संघको तथ्यांकले देखाएको छ । माघ २ गतेसम्म बैंकहरुको ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । पुस मसान्तको तुलनामा माघमा बैंकहरुले ३ अर्ब भन्दा बढीले निक्षेप घटाएका छन् ।

लामो समयपछि कर्जा लगानीमा सुधार आएकाले बैंकहरुलाई लगानी गर्न थप उत्साह मिलेको अध्यक्ष दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?