प्रचण्ड र माधव नेपाललाई छिट्टै कारबाही हुन्छ : कर्ण थापा

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन ।

बझाङमा आयोजित ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रसंग कोट्याउँदै यस्तो बताएका हुन् । ‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जानेवाला छन्,’ उनले भने, ‘त्यही काम गरेका दीप बस्न्यात जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ? ’

तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छलफल गरिएको कुरा लिखित रूपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो । ‘त्यो लिखत आवश्यक परे जनतालाई बाँड्न तयार छौं,’ उनले भने ।

उनले तत्कालीन माओवादी लडाकुको विषय छानबिन हुने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कारबाही हुने बताए । ‘६, ७ हजार लडाकुलाई ३७ हजार पु¥याएँ भनेर प्रचण्डले बोलेको भिडियो तपाईंहरूले देख्नुभएकै होला,’ उनले भने, ‘लडाकुले पाएको चेक खोसेर खाएको कुरा पनि सबैसामु छर्लंगै छ ।’ उनले भ्रष्टहरूले आफ्ना कर्तुत ढाकछोप गर्नका लागि गठबन्धन बनाएको आरोप लगाउँदै त्यो सफल नहुने ठोकुवा गरे ।
केपी शर्मा ओलीको जोडबलमा सुशील कोइराला सरकारका पालामा मन्त्री भएका थापाले झन्डै दुई घण्टा लामो भाषणमा धेरै जसो समय दाहाल–नेपाल समूहका नेता भीम रावलको विरोधमा खर्चेका थिए ।

आफूले पद नपाएका कारण रावलले नेपाल र दाहाललाई उचालेर पार्टीलाई फुटको बिन्दुसम्म पु-याएको उनको आरोप छ । उनले दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठको आरोपपत्र पनि रावल र सुरेन्द्र पाण्डेले तयार गरेको र दाहालले हस्ताक्षर मात्रै गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?