‘एक वडा : एक पोखरी, एक वडा : एक चौतारी’ अभियान शुरु

RSS
0
Shares

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक पोखरी र एक वडा : एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।

चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । “वातावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हौं, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ”, पोखरेलले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमवार सम्पन्न आठौं गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ”, पोखरेलले भने ।

करदाता बढे

आँबुखैरेनी गाउँपालिकामा करदाता बढेका छन् । आर्थिक वर्ष २०७६-७७ मा तीन हजार २०७ करदाता रहेकामा चालु आव २०७७-७८ मा चार हजार ८७९ करदाता पुगेका छन् । त्यसमध्ये व्यक्तिगततर्फ चार हजार ६९४ र संस्थागततर्फ १८५ करदाता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए । चालु आवमा एक हजार ९४० करदाताले सम्पत्ति तथा भूमिकर तिरेका छन् भने दुई हजार ३९ जनाले कर तिर्न बाँकी छ । गाउँपालिकामा आव २०७५-७६ मा तीन हजार ९१७ र आव २०७४-७५ मा चार हजार २९२ करदाता थिए ।

पाँच वटा कानून निर्माण

गाउँपालिकाले चालु आवमा पाँच वटा कानून निर्माण गरेको छ । आइसोलेशन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७, कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन कार्यविधि २०७७, कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७, निजी जग्गाको गिट्टी, बालुवा माटो कार्यविधि २०७७ र स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?