विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान

RSS
0
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान शुरु गरेको छ । नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान गर्ने उद्देश्यले मङ्गलबारदेखि नगरपालिकाले औपचारिकरूपमा रगत परीक्षण अभियान शुरु गरेको हो ।

नगरपालिकाको वडा नम्बर–१ दिक्तेलस्थित पञ्च माविबाट शुरुआत गरिएको अभियान नगरप्रमुख दीपनारायण रिजालले ब्यानर खोलेर शुभारम्भ गरे । नगरपालिकाको स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा अभियान शुरु गरिएको हो । पञ्च माविमा कक्षा–८ मा अध्ययनरत छात्र प्रविन आचार्य र छात्रा गङ्गा आचार्यको शुरुमा रक्त समूह पहिचान गरिएको थियो । प्रविनको ‘ओ’ पोजेटिभ तथा गङ्गाको ‘बि’ पोजेटिभ रहेको कार्डसमेत नगरप्रमुख रिजालको हातबाट हस्तान्तरण गरिएको छ ।

नगरपालिकाभित्र ९३ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सबै विद्यालयका गरी आठ हजार ८४६ जना विधार्थीको क्रमशः रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सम्पूर्ण विधार्थीको रक्त समूह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखि विधार्थीको परिचयपत्रमा रक्त समूह उल्लेख गरिने जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरी प्रमुख सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ ।

कोरोना भाइरस आउनुभन्दा अगाडिबाटै शुरुआत भएको ‘स्कूल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समूह पहिचान अभियान थालिएको नगरप्रमुख रिजालले बताए । “जिल्लामा दाताको भरमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिएको छ”, उनले भने, “विद्यार्थीको परिचयपत्रमा नै रक्त समूह उल्लेख गरेपछि दुर्घटना जस्ता आपतकालीन अवस्थामा रगत सङ्कलन तथा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।”

यसअघि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला अस्पताल खोटाङमा रक्त सङ्कलन केन्द्र स्थापना गरिएको गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको नेतृत्वमा सञ्चालन हुने गरी स्थापना गरिएको रक्त सञ्चार केन्द्र चौबीसै घण्टा सञ्चालन हुने गरेको छ ।

जिल्लामै पहिलो पटक स्थापना गरिएको रक्त सञ्चार केन्द्रका लागि चौबीसै घण्टा काममा रहने गरी नगरपालिकाबाट तीन तथा अस्पतालबाट एक जना दक्ष कर्मचारी खटाइएको नगरप्रमुख रिजालले बताए । “रगत अभावमा कसैले पनि ज्यान गुमाउन तथा रगत खोज्न अन्यत्र जानु नपरोस् भन्ने उद्देश्य राखिएको छ”, उनले भने, “रक्त सञ्चार केन्द्रलाई थप प्रभावकारी तथा निरन्तर सेवा दिने बनाउन भक्तपुर शाखासँग सात बुँदे सम्झौता गरिएको छ ।”

जिल्लाको एक मात्र सरकारी अस्पतालमा यस अघिसम्म ब्लड बैंक (रक्त भण्डारण गृह) नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीले नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा रक्तदान गर्ने व्यक्ति अधिक भए पनि भण्डारण गृह नहुँदा समस्या भएपछि रेडक्रसको पहलमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र पन्ध्र शय्याको अस्पताल सञ्चालनमा छ । पन्ध्र शैयाको अस्पताललाई स्तरोन्नति गरेर ५० शैयाको बनाउने विषयमा गत वर्ष नै मन्त्रिपरिषद्बाट निर्णय पारित भए पनि अहिलेसम्म काम अगाडि बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?