२०७७, ६ माघ मंगलवार २२:४७

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध तत्काल अविश्वासको प्रस्ताव दर्ता नहुने


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार २२:४७

काठमाडौँ– वाग्मती प्रदेशसभाको आज बसेको कार्य परामर्श समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक भोलि माघ ७ गते बिहान ८ बजे बस्ने र बैठकले अविश्वासको प्रस्तावको कार्यविधि तयार गर्नुको साथै पूर्ण बैठकमा छलफलमा ल्याउन मिति तोकिने कार्यदलका संयोजक पाण्डेले बताए ।

प्रदेशसभाको भोलि माघ ७ गते बस्ने सातौँ बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभामा अहिले नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल मजदूर किसान पार्टीको दुई, राप्रपाको दुई र एक स्वतन्त्र गरी ११० सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस