सकिँदै ट्रम्पको कार्यकाल : यस्ता छन् महत्वपूर्ण र विवादीत निर्णय

लोकपथ
0
Shares

काठमाडौं । २० जनवरी अर्थात् भोलि अमेरिकामा नयाँ नेतृत्वले सत्ता सम्हाल्ने छ । भोलि जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सत्ता शपथ लिँदैछन्, भने डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथ ग्रहण कार्यक्रममा नजाने बताइएको छ । उनले लोकतान्त्रिक परम्परा तोड्न सक्ने बताइएको छ ।तर उपराष्ट्रपति माइक पेन्स भने समारोहमा सहभागी बन्ने बताइएको छ ।

ह्वाइट हाउसबाट हटेपनि अमेरिकी समाजमा डोनाल्ट ट्रम्पले त्यस्ता विवादीत निर्णय र विरासतहरु छाडेर जाँदैछन्, जो आम अमेरिकीहरुलाई मन पर्दैन । त्यसैले सायद, उनी अमेरिकी लोकतान्त्रिक इतिहासमै दुईपटकसम्म महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति बने । ट्रम्पलाई अमेरिकाका राष्ट्रपति र ‘झुठका राजा’ भन्दा पनि फरक नपर्ला ।

अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टको एक रिपोर्टअनुसार ट्रम्पले कार्यकालको सुरुवाती ८ सय २७ दिनमा झन्डै १० हजार गलत या भ्रामक दाबी गरे । ९ जुलाई २०१९ सम्म यो आँकडा २० हजार ५५ पुगिसकेको थियो । यो संख्या अहिले अझै बढेको अनुमान लगाउन सकिन्छ । सबैभन्दा धेरै झुठ चुनावलाई लिएर फैलाइएको थियो । त्यसपछि अमेरिकी अर्थव्यवस्था र रोजगारीबारे पनि भ्रामक प्रचार गरियो । राष्ट्रपतिका रुपमा ट्रम्पले औसतमा हरेक दिन १२ वटा झुठो दाबी गरेको रिपोर्टमा उल्लेख छ ।

ट्रम्प र उनको कार्यकालसँग जोडिएका केही महत्वपूर्ण र विवादीत निर्णय यस्ता :

१) इजरायल प्रेम – कार्यकालको सुरुवाती हप्तामै ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए । भने– अब तेल अभिभ होइन, जेरुसलेममा अमेरिकी दूतावास रहन्छ । उनले ७० वर्षको अमेरिकी नीतिलाई एक हस्ताक्षरका भरमा फेरिदिए । यसको ठूलो विरोध भयो, विशेषगरी अरब क्षेत्र र युरोपमा ।

२) मुस्लिम देशमाथिको प्रतिबन्ध – हिंसाग्रस्त सिरिया, सुडान, सोमालिया, ईरान, इराक, लिबिया र यमनका शरणार्थीहरुलाई अमेरिकामा प्रवेशको प्रतिबन्ध लगाइदिए । यस निर्णयबाट मुस्लिम देशहरु आक्रोशित भए, मानवअधिकारीवादी संगठनहरुले यसलाई ‘क्रुर’ निर्णय भने ।

३) दूतावासमा परिवर्तन – यस्तो पनि पहिलोपटक नै भयो । ट्रम्पले एकैपटक झन्डै ५० देशबाट अमेरिकी राजदूतहरुलाई फिर्ता बोलाए, अनि उनीहरुको साटो नयाँ कुटनीतिज्ञहरुलाई पठाए । एउटा समयत यस्तो पनि आयो, जब क्यानेडा, चीन र साउदी अरबजस्ता देशमा पनि अमेरिकी राजदूतको पद केही दिन रिक्त रह्यो ।

४) मेक्सिकोको सीमामा पर्खाल – घुसपैठ र ड्रग माफियालाई रोक्नका लागि ३२ सय किलोमिटर लामो पर्खाल बनाउने फैसला ट्रम्पले लिए । यसमध्ये ४ सय ५३ किलोमिटर लामो पर्खाल खडा भइसकेको छ । पर्खाल बनाउने पैसा पनि मेक्सिकोले नै दिने ट्रम्पको दाबी थियो । तर अहिलेसम्म १५ करोड डलर अमेरिकाले नै खर्च गरिसकेको छ । जो बाइडेनले यस कामलाई रोक्ने अपेक्षा गरिएको छ ।

५) जलवायु परिवर्तनमा अलग अडान – २०१६ मा विश्वका शक्तिशाली देशहरुबीच जलवायु परिवर्तन रोक्नका लागि पहल गर्नेगरी फ्रान्सको पेरिसमा सम्झौता भएको थियो । तर, ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका यो सम्झौताबाट बाहिरियो । बाराक ओबामाले ट्रम्पको यो कदमलाई ‘आत्मघाती’ भने । बाइडेनले फेरि यस सम्झौता फर्कने वाचा गरिसकेका छन् ।

६) टीटीपी सम्झौताबाट पनि टाढा – चीनको दबदबालाई कम गर्ने वाचा र दाबी ट्रम्पले गरिरहे, यद्यपी उनले नै ट्रान्स प्यासिफिक पार्टनरसिपबाट अमेरिकालाई बाहिर निकाले । र, यसको साटो अन्य कुनै सम्झौता पनि गरेनन् । यसको फाइदा उठाउँदै चीनले अहिले १२ एशियाली देशससँग स्वतन्त्र व्यापार गरिरहेको छ ।

७) ईरानसँग विवाद – पूर्वराष्ट्रपति ओबामाको कार्यकालमा ईरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहित विश्वका अन्य शक्तिशाली देशको संलग्नतामा ईरानसँग एउटा सम्झौता भएको थियो । ट्रम्पले वार्ता र छलफलमार्फत यस सम्झौतालाई लागु गर्नुको साटो यस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । ईजरायलसँग मिलेर ईरानका ठूला नेताहरुलाई निशाना बनाए । क्वाद फौजका कमाण्डर जनरल कासिम सुलेमानीको त हत्या नै भयो । नतिजा, ट्रम्पका यस्ता हर्कतका कारण ईरानको झुकाव चीनतर्फ बढ्यो ।

८) सेना फिर्ता – सिरिया र अफगानिस्तानमा अवस्था खासै नसुध्रिएपनि सत्तामा रहदाँको फाइदा उठाएर ट्रम्पले यहाँबाट अमेरिकी सैनिकहरुलाई घर फिर्ता बोलाए । यो कदमका कारण यी दुबै देशमा अमेरिकी प्रभूत्व गुम्यो । सिरियामा रुस र अफगानिस्तानमा चीनको सहयोगमा पाकिस्तानले आफ्नो प्रभाव बिस्तार गरिसकेका छन् ।

९) सर्वोच्च अदालतमा मन परेका न्यायधिस – न्यायाधिस गिन्सवर्गको मृत्युपछि ट्रम्पले युवा न्यायाधिस बैरेटलाई नियुक्ती दिए । यसका लागि शक्तीको गलत प्रयोग गरे । राष्ट्रपतिय निर्वाचनको विवाद सर्वोच्च अदालतसम्म पुग्यो भने आफ्नो पक्षमा फैसला आउँछ भन्ने ट्रम्पलाई लागेको थियो । तर सर्वोच्चमा विवाद पुग्नुअघि नै ट्रम्प पराजित भएको घोषणा भयो ।

१०) डब्ल्युएचओलाई सहायता बन्द – विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) मा अमेरिकाले ४० प्रतिशत आर्थिक सहयोग गर्ने गरेको थियो । ट्रम्पले डब्ल्युएचओलाई चीनको कठपुतली भन्दै आर्थिक सहयोग बन्द गरिदिए । महामारीको दौरान उनले चालेको यस कदमको विश्वव्यापी विरोध भयो ।

ट्वीटरको गलत प्रयोग : 
ट्रम्पले आफ्नो झुठ फैलाउन ट्वीटरको सक्दो दुरुपयोग गरे । उनी राष्ट्रपतिको आधिकारीक ट्वीटर एकाउन्टभन्दा पनि व्यक्तिगत एकाउन्ट धेरै चलाउँथे । तर, नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनयता ट्वीटरको अत्याधिक दुरुपयोग गरेपछि अन्तत बाध्य भएर ट्वीटरले यसै महिना ट्रम्पको व्यक्तिगत एकाउन्टलाई स्थायी रुपमै प्रतिबन्ध लगाइदियो ।

जसकारण, अहिले उनी आफ्नो व्यक्तिगत एकाउन्टबाट ट्वीट गर्न असमर्थ छन् । ट्वीटरबाइन्डर डटकम र स्ट्याटिस्टीका डटकमको रिपोर्टअनुसार ट्रम्पले राष्ट्रपतिको आधिकारीक ट्वीटर एकाउन्टबाट कुल ३४ हजार ट्वीटमात्रै गरे ।  प्रतिबन्धित हुनअघि ट्रम्पको व्यक्तिगत एकाउन्ट भने धेरै प्रयोगमा आयो ।

यसका केही आँकडा यस्ता छन् –
५९,५५३– ट्वीट वा रिट्वीट
४६, ९१९– ओरिजिनल ट्वीटस्
१२,६३४– रिट्वीट
,८९,३६,,४१– फलोअर्स
५१– फलोइङ
४ मेइ २००९ – पहिलो व्यक्तिगत ट्वीट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?