तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै दार्चुला

RSS
0
Shares

दार्चुला । दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो ।

यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शङ्करदत्त अवस्थीले बताए ।

दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ । जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ ।

यस्तै जिल्लामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ । दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ । त्यसबाट ६ हजार २९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा ३४० हेक्टर क्षेत्रफलमा बर्खे तरकारी खेती लगाइने गरिएको छ जसबाट वार्षिक चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय स्थानीय तह, संघ, प्रदेश र गैरसकारी संघ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन् । जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको छ ।

किसानलाई बीउ बिजनदेखि उनीहरुलाई व्यावसायिक तालीममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग पुर्‍याउँदै आएको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताए । अघिल्लो आर्थिक वर्ष २०७५-७६ भन्दा गत आर्थिक वर्ष २०७६-७७ मा ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती थप विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी लगाउने सिजन शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदे तरकारी लगाउन थालिएको छ । धान गोड्ने काम र कोदो रोपाइँ सकेका किसान यतिबेला हिउँदे तरकारी लगाउन व्यस्त बनेका छन् । किसानले काउली, बन्दा, ब्रोकाउली, रायो, मुला, चम्सुर, पालुङ्गो, धनियाँ, गाँजरलगायतका तरकारी लगाउन शुरु गरेका छन् ।

भदौदेखि मङ्सिर हुँदै माघसम्म हिउँदेबाली लगाउन सकिने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि प्राविधिकले हाइब्रिड भन्दा स्थानीय जातको मीठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढी देखिएको बताएका छन् ।

काउली, बन्दालगायतका तरकारीको बेर्ना उमार्ने काममा किसान लागेका छन् । कतिपय स्थानका किसानले भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत शुरु गरिसकेको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताए । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै अधिकांश जनशक्ति ग्रामीण भेगमा केन्द्रित हुँदा यसवर्ष तरकारी उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा युवा पुस्ता पनि व्यावसायिक कृषिमा आकर्षित भएकाले पनि तरकारी उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र दार्चुला तथा विभिन्न संघ संस्थाले तरकारी खेतीमा किसानलाई आधुनिक तरकारी खेतीको तालीम र बिउबिजन वितरण गर्न थालेपछि गाउँका किसान तरकारी खेती गर्न हौसिएका छन् । उत्पादित तरकारी बजारसम्म पुर्‍याउन सजिलो होस् भनेर विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्र पनि स्थापना भएका छन् । तरकारीको माग उच्च रहेकाले बिक्री पनि तुरुन्तै हुने भएकाले किसानको आयआर्जन बढ्न थालेको बताइएको छ । दार्चुलामा उत्पादनका हिसाबले आत्मनिर्भर भए पनि बजार व्यवस्थापन सहज नहुँदा उत्पादित तरकारी अपेक्षित रुपमा बजार आउन नसकेको कार्यालयले जनाएको छ । जिल्लाभित्रै उत्पादित तरकारीको बजारीकरण सहज नहुँदा जिल्ला बाहिरबाट पनि तरकारी भित्र्याउने गरिएको छ ।

जिल्लाबाट उत्पादित तरकारी थोरै परिणाममा बाहिरी जिल्लामा पनि निर्यात हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा उत्पादित तरकारी छिमेकी राष्ट्र भारतमा गएर पनि नेपालतिरका किसाले बिक्री गर्ने गरेका जनाइएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण सीमा नाका बन्द हुँदा नेपालतिरको तरकारी भारतीय बजारमा जान छोडेको छ भने नेपालतिरका बजारमै बिक्री हुने गरेको छ । हालै कोरोना प्रभावित युवाको लागि कार्यालयले ७८ जना युवालाई तरकारी खेतीमा लगाउँदैछ । दार्चुलाको नौगाड, दुहुँ, ब्यास, अपिहिमाल, मालिकार्जुन, लेकम, मार्मा गाउँपालिका, महाकाली नगरपालिका, र शैल्यशिखर नगरपालिकाका किसानले आफ्ना उत्पादन बजारमा बिक्री गर्ने गरेका छन् । खारका स्थानीय धनसिंह सितोली यो वर्ष लकडाउन भएको कारण पनि जिल्लाको उत्पादनले बजार पाएको बताउछन् । यो वर्ष भारतबाट कम तरकारी निर्यात हुँदा स्थानीय उत्पादनले सबैतिर बजार पाएको हो । स्थानीय उत्पादनले बजार पाएपछि किसान खुशी भएका छन् । ब्यास र अपिहिमाल, नौगाडको आलु सदरमुकाम खलङ्गा र जिल्लाबाहिर पनि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?