सरकारी सेवा छाडेर होटल व्यवसायमा

RSS
0
Shares

चितवन । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय शुरु गरेकी छिन् । प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय बिताएकी उनले भरतपुरका चौबीसकोठीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याएकी हुन् ।

भरतपुर महानगरपालिका–३ बेलचोक निवासी उनले प्रहरी नायब निरीक्षक पदबाट गत वर्ष स्वेच्छिक अवकाश लिएकी थिइन् । अनिवार्य अवकाशका लागि आठ वर्ष बाँकी रहेको भए पनि ऊर्जाशील समयमा व्यवसाय गर्नकै लागि सेवा निवृत्त भएको उनले बताइन् । उनले एक करोडभन्दा बढी ऋण धन जुटाएर आकर्षक होटल सञ्चालनमा ल्याएकी छिन् ।

तीस जना अट्ने सभाकक्षसहित एकै पटकमा १०० भन्दा बढी बसेर खाना खान मिल्ने गरी होटल सञ्चालनमा ल्याइएको छ । होटलमा मुख्यरूपमा थकाली खानासँगै रेष्टुरेण्टमा पाइने सबै प्रकारका खाना र खाजा पाइन्छन् । उनले भनिन्, “मेरोमा सेवाग्राहीको चाहनाअनुसार अन्यत्र पाइने खाजाका सबै परिकार बन्दछन् । तैपनि थकाली खाना हाम्रो मुख्य परिकार हो ।” स्थानीय जातको कुखुरा, खसी, हाँसको मासुसहितको खाना धेरैले मन पराएको उनको भनाइ छ । होटलमा मःमः, चाउमिन, ललिपप, चिकेनचिल्लीलगायतका रेष्टुरेन्टका परिकार पाइन्छन् ।

गत वैशाखबाट शुरु गरिएको होटलमा हाल दैनिक १०० भन्दा बढीले सेवा लिने गरेको उनको भनाइ छ । सानो ठाउँमा राम्रो व्यवस्थापनका साथ आकर्षक सजावट गरेर होटल बनाइएको छ । पूर्वपश्चिम राजमार्गमा जोडिएको उक्त होटल भरतपुर विमानस्थलसँगै रहेको छ । होटल अगाडि पार्किङको सुविधासमेत भएकाले ग्राहकको रोजाइ बन्न सकेको उनको भनाइ छ ।

अपराध नियन्त्रणसँगै महिला अधिकारका क्षेत्रमा काम गर्ने भएकाले उनको होटलमा जिल्लाका महिला अधिकारकर्मीको पनि राम्रो उपस्थिति हुने गरेको छ । लामो समय जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहेकी पौडेलको राजनीतिक, सामाजिक र व्यवसायिक व्यक्तिको सम्पर्क राम्रो रहेकाले पनि होटल व्यवसायमा सहयोग पुगेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?