पत्थरडाँडा–तिनाउ सडक विस्तार शिलान्यास

RSS
0
Shares

रुपन्देही । तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वडा नं १३ को तीनधुरेमा शिलान्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ ६.८ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकका रूपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पु¥याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिले विशेष महत्व दिँदै आएका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उनले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पारे ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको हुँदा सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए ।

तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बर्ताए । उनले सडक विस्तार कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?