पर्यटकको पर्खाइमा ‘खप्तड’, आन्तरीक पर्यटक घुमाउन हेली टूर

लोकपथ
13
Shares

टेक सिँह धामी/ कैलाली । भूस्वर्ग खप्तड पर्यटकको पर्खाइमा छ । पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याइने लक्ष्य लिइएको छ । चिसोमा हिउ खेल्न सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा एकटकमा तिन सय पर्यटक भित्राउने योजना सहित भिजिट खप्तड हेली टूर अभियान सुरु गरिने भएको छ । कोभिडले थला परेको पर्यटकिय क्षेत्र केही भएपछि चलायमान गराउन भिजिट खप्तड हेली टूर अभियान सुरु गरेको हो ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्रानाले हेलिकप्टर मार्फत खप्तड पुर्‍याउने र त्यहाँ रमाउने प्याकेज ल्याईएको हो । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होमस्टेका प्रवन्ध निर्देशक दीपक कुमार खड्काले माघ १४ गते देखि १८ गते सम्म हेलिकप्टरमार्फत खप्तड पुग्ने व्यवस्था गरिएको जानकारी दिए ।

पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुगाउने योजना रहेको खड्काले बताए । दिपायल–खप्तड–दिपायल १० हजार, झिग्राना–खप्तड–झिग्राना ८ हजार, सचारकर्मीको लागि सात हजार, धनगढी– खप्तड–धनगढी ३० हजार खर्च लाग्ने बताईएको छ । धनगढी – दिपायल प्लेन, दिपायल खप्तड हेलिकप्टर दुवै तर्फ २१ हजार ५ सय, धनगढी–दिपायल स्थलमार्ग बुकिङ गाडी दिपायल –खप्तड हेलिकप्टर १५ हजार खर्च लाग्ने प्याकेज रहेको छ ।

२२ वटा पाटन तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । खप्तडले हिउँको घुम्टो पाएपछि झनै अलौकिक देखिन्छ । समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड पुसको मध्यदेखि नै सेताम्मे हिउँले ढाकिन्छ भने जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ । खप्तडमा यो हिउँदमा दुईपटक हिमपात भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?