बीमा समिति नेतृत्वविहिन, राजनीतिक खिचातानीका कारण अघि बढेन प्रक्रिया !

लोकपथ
13
Shares

कमला अर्याल / काठमाडौँ – बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति अहिले नेतृत्वविहिन बन्न पुगेको छ ।

राजनीतिक खिचातानीका कारण समिति नेतृत्वविहिन बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेपछि निम्तिएको राजनीतिक असन्तुष्टीका कारण सरकार नै त्यसतर्फ केन्द्रीत हुँदा समितिको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया नै अघि बढ्न सकेको छैन।

समिति नेतृत्वविहिन भएको तीन साता भन्दा बढी भइसकेको छ । समितिका यसअघिका अध्यक्ष चिरञ्जीवि चापागाईँको कार्यकाल पूरा भएपछि गत पुस १३ गतेदेखि नै समितिको अध्यक्ष पद खाली छ ।

समितिले नेतृत्व नपाएका कारण अहिले समितिको दैनिक काम कारवाही तथा बीमा कम्पनीहरुले बीमा समितिबाट लिनुपर्ने स्वीकृति लगायतका कामहरु प्रभावित भएका छन् । लामो समय अध्यक्ष नहुँदा समितिका काम पूर्ण रुपमा प्रभावित भएको समितिकै कर्मचारीहरु बताउँछन् ।

समितिमा नेतृत्व ल्याउने विषयमा अर्थ मन्त्रालयमा हालसम्म पनि कुनै छलफल भएको छैन । अर्थमन्त्री विष्णु पौडेललाई यस विषयमा प्रश्न समेत गर्न थालिएको छ ।

को – को छन्,दौडमा ?
समितिको प्रतिष्पर्धाका लागि नेपाल राष्ट्र बैंकका डेपूटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल स्टक एक्सचेञ्ज नेप्सेका पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईँ र श्रीमान कार्की लगायत अध्यक्षका लागि दौडमा रहेका छन् ।

प्रतिष्पर्धीहरुले आफू निकट शक्तिकेन्द्रसँग निकटता बढाइरहेका छन् । अहिले बजारमा समितिको अध्यक्षको रुपमा को आउला भन्ने चर्चा परिचर्चा छ ।

समितिको अध्यक्ष पदका लागि सबैभन्दा शक्तिशाली आकांक्षीको रुपमा डेपूटी गभर्नर शिवाकोटी देखिएका छन् । उनी यसअघि राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस भएका व्यक्ति हुन् । त्यति मात्रै होइन ,शिवाकोटी राजनीतिक रुपमा पनि बलिया व्यक्ति हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । त्यसैले पनि उनलाई गभर्नरका लागि शक्तिशाली दाबेदार मानिएको थियो । तर पछि प्रधानमन्त्री र अर्थमन्त्रीको स्वार्थ मिलेपछि महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्ति गरियो । त्यसबेला डेपूटी गभर्नर शिवाकोटीलाई अर्को कुनै शक्तिशाली पदमा नियुक्ति गर्ने विश्वास समेत दिलाइएको थियो । शिवाकोटीलाई डेपूटी गभर्नर पनि प्रधानमन्त्री ओलीले नै बनाएका थिए । त्यसैले पनि यसपाली शिवाकोटी शक्तिशाली आकांक्षीका रुपमा देखिएका हुन् । स्रोतका अनुसार संभवतः शिवाकोटी नै समितिकोे अध्यक्ष बन्नेछन् । तर प्रधानमन्त्री ओलीले भने व्यक्तगत रुपमा कसैलाई वचन नदिएको बताइएको छ ।

अन्य आकांक्षीहरुले पनि समितिको अध्यक्षका लागि दाबी गरेका छन् । टंक पनेरु यसअघि धितोपत्र बोर्डमा पनि जाने प्रयास गरेका थिए । उनी पनि शक्तिशाली आकांक्षीका रुपमा देखिएका छन् ।

गुरागाईँ यसअघि नेपाल रिइन्स्योरेन्सको पूर्व अध्यक्ष हुन् । उनलाई त्यतिबेला पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको जिम्मेवारीमा लैजाने भन्ने चर्चा चलेको थियो । उनले पार्टीलाई योगदान गरे पनि पार्टीले आफूलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै गुनासो समेत गर्दै हिँड्ने गरेका छन् ।

अर्का आकांक्षी डा. खरेल पनि समितिको अध्यक्षकोे दाबेदारका रुपमा देखिएका छन् । डा. खरेल ससुरा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको सहारामा समितिमा दाबी गरेका छन् । डा. खतिवडा अर्थमन्त्री हुँदा उनी काजमा अर्थमन्त्रालय तानिएका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका भए उनी डेपूटी गभर्नरमा पक्का थिए । तर उनी निर्देशक मात्रै भएकाले उनी डेपूटी गभर्नर भएनन् । उनी निर्देशक मात्रै हुन् । उनी नेपाल नागरिक लगानी कोषको बोर्डमा सदस्यका रुपमा अझै कार्यरत छन् । उनलाई ससुरा डा.खतिवडाले नै नागरिक लगानी कोषको सदस्य बनाएका थिए । तर डा. खरेलको संभावना भने कम रहेको बताईन्छ । अहिले डा.खतिवडा अर्थमन्त्रीको रुपमा छैनन् । उनी अमेरिकाका लागि राजदुत नियुक्ति भइसकेका छन् ।

अर्थमन्त्रीको भूमिकामा नभएपछि डा. खरेलको समितिमा आउने संभावना न्यून भएकोे हो । बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्ति पाएका श्रीमान् कार्कीको नाम पनि अध्यक्षको रुपमा चर्चामा आउने गरेको छ ।

अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने समिति अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ ।

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सुमधुर सम्बन्ध भएका कारण मन्त्री पौडेलले प्रस्ताव गरेको व्यक्ति समितिको अध्यक्ष हुन सक्नेछ । समितिको अध्यक्षमा बीमा क्षेत्र बुझेको, भोगेको, जानेको व्यक्ति नियुक्त गर्नुपर्ने माग गरिँदै आएको छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा गरी ४० बीमा कम्पनीहरु संचालनमा छन् । यी सबै बीमा कम्पनीहरुको नियामन तथा सुपरिवेक्षणको काम समितिले गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?