चिसो छल्न कालापानी झर्दै किसान

टेक सिंह धामी / धनगढी । देशभर जाडो बढेसँगै कैलालीको मोहन्याल गाउँपालिकाको चुरे क्षेत्रका पशुपालक किसानहरु बेसी झर्न थालेका छन् ।

कैलालीको उच्च पहाडी भू-भाग मा अत्याधिक जाडो हुने भएकाले उनीहरु वर्षेनी पालेका पशुसहित बेसी झर्ने गरेका छन । बेसीमा पशुलाई अनुकुल वातावरण हुने र चिसो छल्न आउने गरेको पशुपालकहरु बताउँछन् । उनीहरु बेसीका अस्थायी टहरामा जाडोयाम बिताएर पुनः घर फर्कने गरेका छन् ।

महोन्याल गाउँपालिकाका अधिकांश किसानहरु गाई, बाख्रासहित बेसी झर्छन् । उच्च पहाडी भुभागमा अत्याधिक चिसो हुने भएकाले जाडो हुने र पशुमा रोग ब्यादीको समस्या देखिने भएकाले जाडो यामका लागि बेसीमा न्यानो र अनुकुल वातावरण हुने हुँदा बर्सेनी गोठ सार्ने गरेको उनीहरुको भनाई छ ।

जाडो याममा चुरे क्षेत्रमा हुने अत्याधिक चिसोका कारण गाई वस्तु तथा बाख्राहरु कठ्याङग्रिएर बिरामी हुने तथा मर्ने समस्या हुने र बेसी तिर पर्याप्त घाँसपात पाइने भएकाले चुरे क्षेत्र महोन्याल गाउँपालिकाको पण्डौन, खिमडि, बजेडि लगायतका ठाउँबाट बेसी झर्ने गरेका हुन् ।

हिउँदमा चुरेको पहाडको उच्च क्षेत्रमा पर्याप्त घासहरु नपाउने, पाएको घाँसपात पनि बाख्राले नरुचाउने तथा चिसोले फस्टाउन नपाउने भएकाले आफुहरु पशुसहित बेसी झरेको बाख्रा गोठमा भेटिनु भएकी हिरादेवी बमले बताइन् ।

बिगतमा जाडो छल्न अन्यत्र जाने गरेका उनीहरु ४ वर्ष यता भने महोन्याल गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने कालापानी क्षेत्रमा बस्ने गरेका छन । प्रति परिवार ४० बढी बाख्रापालन गरिरहेका उनीहरु यही पेशालाई नै व्यवसायिक बनाउँदै आएका छन । बिगतमा परदेशको कमाईले घरखर्च धान्न समेत गाह्रो हुने गरेकोमा बाख्रापालन शुरु गरेसँगै आयआर्जन समेत राम्रो हुँदै गएको हिरादेवी बताउँछिन् ।

यतीबेला कालापानी क्षेत्रमा केही परिवारले अस्थायी टहरा निर्माण गरी बाख्रापालन गरिरहेको भएपनि अन्य क्षेत्रहरुमा समेत सोही क्रम जारी रहेको छ।

पुर्ख्यौली पेशाका रुपमा पनि पशुपालन गरिरहेका उनीहरुलाई सरकारी अनुदानले भने छुन सकेको छैन । जंगलमै अस्थायी टहराको बाँसले केही जोखिम त निम्त्याएको छ नै उनीहरुका लागि शुद्ध खानेपानीको समेत समस्या हुने गरेको छ ।

कतिपयले गाई पालन समेत गरी घिउ उत्पादनबाट मनग्य आम्दानी गरिरहेका छन । स्वास्थ्यको पहुचमा पनि खासै पुग्न नसकेका उनीहरुले जंगली जडीबुटीको प्रयाग नै बढी गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?