ज्यानको ‘बाजी’ राखेर हिउँमा निकुञ्जको सुरक्षा

RSS
0
Shares
Snow Falls

जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ ।

विसं २०४० मा स्थापना भएको यो निकुञ्ज तीन हजार ५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । डोल्पा र मुगु जिल्लाको हिमाली क्षेत्रमा मात्र फैलिएको निकुञ्जमा छ महिनाभन्दा बढी हिउँले ढाक्ने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता थपेको छ । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल छ । यसलाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ ।

निकुञ्जमा भएको महत्वका कारण चोरी, निकासी गर्नेको ठूलो जमात दैनिक पक्राउ परिरहेको छ । दुई महिनायता मात्र भारी मात्रामा हतियार र तस्कर पक्राउ परिसकेका छन् । तस्कारबाट हतियारदेखि जनावरका विभिन्न अङ्गसमेत फेला परेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले बताउनुभयो । निकुञ्जको कार्यालय सुलिगाडमा रहेको छ । यो निकुञ्ज क्षेत्रको सबैभन्दा तल्लो भागमा रहेको छ ।

माथिल्लो भागमा अहिले हिउँले ढाकेको छ । हिमपातकै बीचमा वनरक्षक तथा स्थानीयवासीबीच सहकार्य भई संरक्षण समितिले नियमित हिउँमै गस्ती गरिरहेको छ । ज्यानको बाजी लगाएर भए पनि निकुञ्जको सुरक्षा गरिरहेका स्थानीयवासी धनु गुरुङले बताए । उच्च भागमा गस्ती गर्न मुस्किल हुने ठाउँमा वन विभागसँग निकुञ्जले ड्रोन क्यामरामार्फत गस्ती गर्नका लागि पहल थाले पनि ड्रोन नहुँदा सो कार्य असफल हुँदै आएको छ । त्यहाँ भएका हिउँ चितुवासमेत अहिले देखिएका छैनन् ।

कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिए । मुगु र डोल्पाको माथिल्लो भागमा अक्सिजनसमेत पाउन मुस्किल हुने ठाउँमा निकुञ्ज संरक्षण गर्न हिउँमा गस्ती गर्न फलामको चिउरा चपाएझैँ हुने गर्दछ । माथिल्लो भागमा काम गर्ने कर्मचारी काम गर्दागर्दै धेरै पटक बिरामी हुँदा उद्धार गरी उपचारका लागि सदरमुकाम दुनै पुर्याएको कथा त छँदैछ, त्यसमा कर्मचारीको मनोबलसमेत कमजोर हुने गरेको छ ।

जङ्गली जनावरको त्रासका साथै नजिक गाउँ घर नभएको अग्ला अनकन्टार पहाड र चट्टानमा जो कसैलाई पनि काम गर्न सजिलो छैन । स्थानीय उत्पादनभन्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यताको बीचबाट जीवन चलाइरहेका सर्वसाधारणसँग फरक भाषा अनि रहनसहन, वेषभूषासमेत फरक रहेको छ । नेपाली भाषाभन्दा आफ्नै भाषा बोल्ने यहाँका स्थानीयवासीसँग सहकार्य गरी काम गर्न अर्को चुनौती बनेको निकुञ्जका कर्मचारी बताउँछन् । चिसो मौसममा उपल्लो डोल्पामा रहेका प्रहरीचौकीसमेत दुनैस्थित सदरमुकाममा झारिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?