प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौँ । प्रदेश नम्बर २ सरकारले बलिदानी दिवसको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आइएको बलिदानी दिवसका अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।दिवसमा अवसरमा आज प्रदेश २ का विभिन्न स्थानमा दिवस मनाइने तयारी गरिएको बताइएको छ ।

मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । सोही दिनको स्मरणमा मधेश केन्द्रीत दलहरुले प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?