पुष्पलाल स्मृती ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकाको पोल्टामा

काठमाडौँ– सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय प्रतियोगिताको उपाधि जितेका छन् ।

सेमिफाईनलमा शिर्ष वरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शिर्ष १६ पुरुष एकलको फाईनलमा एपिएफका दिपेश धामीमाथि २१।१८, २१।१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् ।

गोलबजार कभर्डहलमा भएको महिलाको शिर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङले उपाधि उचालिन् । उनले १८।२१, २१।१५, २२।२० का साथ उपाधिमाथि कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो । यस अघि ईटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधी उचालेकी थिईन् ।

बिजेताले ५० हजार र उपबिजेताले २५ हजार तथा मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ बरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५।२१, २१।१८, २१।१६ ले पराजित गर्दै उपाधि जिते । यस्तै शिर्ष १२ बरियता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१।९, २१।१३ ले पराजि गरिन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ् र नविन श्रेष्ठको जोडीले उपाधि उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१।१९, १९।२१, २१।१३ को जित निकाल्दै उपाधि उचालेको हो । महिला युगल तर्फ पनि सेनाले उपाधी उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ् र सुनयना मुखिाको जोडीलाई २१।१८, २१।१२ ले पराजित गरेको हो ।

ब्वाईज एकल तर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ् च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१।१५, १९।२१, २१।१० ले पराजित गरे । यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथी २१।१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।

भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले बिजय पाए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१।१२, २१।१९ ले पराजित गरेका हुन् । लाखेले करिव १२ बर्ष पछि कोर्टमा उत्रदै उपाधि उचालेका हुन् ।

बिजयी खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?