नेविसंघका नेता शुभराम बस्नेतसहितलाई अदालतले दियो सफाइ

काठमाडौँ– नेविसंघका नेता शुभराम बस्नेतलगायतविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत सोलुखुम्बुले सफाइ दिएको छ । नुम्बुर हिमाल हाइड्रोपावरको प्रतिनिधि राजन कुमार खत्रीले दायर गरेको शुभराम बस्नेत, भैरव कुमार बस्नेत तथा टिकाजङ्ग खड्काविरुद्धको शरीर बन्धक मुद्दामा आइतबार जिल्ला अदालत सोलुखुम्बुले दावी पुग्न नसक्ने ठहर गर्दै उनीहरुलाई सफाइ दिएको हो ।
उक्त मुद्दामा प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरु डा. गोकुलप्रसाद बुर्लाकोटी, श्याम कुमार खत्री र विदुर लामिछानेले बहस गरेका थिए भने वादी नेपाल सरकारको तर्फबाट बहस गर्ने जिल्ला सरकारी वकिल श्रीराम खनाल थिए । दुबै पक्षको बहस सुनेपछि अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको एकल इजलाशले यस्तो फैसला गरेको हो ।
नुम्बुर हिमाल हाइड्रोपावरले परियोजनास्थलमा पर्ने जग्गाको मुआब्जा नदिई स्थानीय व्यक्तिहरुको जग्गा कब्जा गरेपछि लिखुखोला सरोकार समितिका अध्यक्ष समेत रहेका शुभराम बस्नेतको रोहवरमा भैरवकुमार बस्नेतलाई मुआब्जा दिने सहमति भएको थियो । परियोजनाका प्रतिनिधि राजनकुमार खत्रीले स्थानीय व्यक्तिहरुको सहमतिमा गरी दिएको कागजलाई शरीरबन्धक बनाई कागज गरेको भन्दै मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?