आजबाट बृहस्पती र माघ ३० गतेबाट शुक्र अस्त हुँदै, वैशाखसम्म विवाह जस्ता कार्यहरु गर्न नहुने

काठमाडौं । शुभ तथा मांगलिक कार्य गर्दा शुभ फल दिने देव गुरु बृहस्पती आज बेलुकीबाट अस्त हुँदैछन् । त्यस्तै शुक्र माघ ३० गते शुक्रवार पूर्वमा अस्त हुँदैछन् ।

अस्त भएको बेलामा विषेश गरेर शुभ तथा मांगलिक कार्यहरु गर्नु हुन्न भन्ने हाम्रो शास्त्रिय मान्यता रहको छ ।

विगतका वर्षहरुमा जस्तै यो वर्षको माघ,फाल्गुन,चैत्र र २०७८ साल बैसाख पहिलो हप्तासम्म मांगलिक कार्यहरु हुँदैनन् । सूर्यसँग लगभग १० अंश फरकमा परे भने शुक्र अस्त हुन्छन् भने सूर्यको ११ अंश वरपर रहँदा बृहस्पति ग्रह अस्त हुन्छन् ।

२०७७ माघको ४ गते आईतवार अर्थात आज बेलुकी देवगुरु बृहस्पती पश्चिममा गएर बेलुकी ११ बजेर ५८ मिनेटबाट अस्त हुँदैछन् भने माघ ३० गते शुक्रवार बिहान ०७ बजेर ०६ मिनेटमा शुक्र पूर्वमा अस्त हुँदैछन् ।

ज्योतिष शास्त्रमा देवताहरुका गुरु बृहस्पती लाई धन धान्य,सुख तथा सन्ततीको र दैत्यहरुका गुरु शुक्राचार्यलाई भोग विलाश,मनोरञ्जन,सुख,सुविधाका कारक मानिने हुनाले यो साल अर्थात् २०७७ सालमा माघ,फाल्गुन,चैत्र र वैसाखको पहिलो हप्तासम्म विवाह र वर्तमान जस्ता मांगलिक कार्यहरु गर्ने शुभ साईत छैनन् ।

यसरी गुरु र शुक्रको उपस्थिती बिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ । चिना लेख्ने समयमा कुन ग्रह अस्त छ,कुन कुन ग्रहहरु डिग्री,मिनेट र सेकेण्डका हिसाबले बलिया छन् र कुन कुन ग्रह कमजोर अवस्थामा छन् भन्ने सम्पूर्ण विवरण गणना गरेर देखाईएको हुन्छ ।

के गर्नु हुन्छ ?

ज्योतिष शास्त्रअनुसार बृहस्पती र शुक्र अस्त भएको समयमा नित्य कर्म तथा ग्रह जन्य दोष शान्ति,गायत्री मन्त्रको जप,पाञ्चाएन पुजा,बिहान बेलुकी गरिने नित्य पूजा,जन्म र मरणमा गरिने कार्य,श्राद्ध आदि कार्यहरु गर्न हुन्छ । नित्य कर्म बाहेकका अरु शुभ कर्म गर्न नहुने उल्लेख गरिएको छ । अत्यावश्यक मानिने जन्म, मृत्यु ,न्वारन आदि संस्कार गर्न हुने शास्त्रमा उल्लेख गरिएकोछ ।

के गर्नु हुदैन ?

सनातन धर्ममा विशेषगरी वृहस्पति र शुक्र ग्रह अस्त भएका वेला मांगलिक कार्यहरू गरिँदैनन् । अहिले अँगालिएको ज्योतिषशास्त्र र त्यसैका आधारमा बनाइएको निर्णय सिन्धुलगायतमा यी दुई ग्रह अस्त भएमा नित्यकार्यबाहेक अन्य शुभ कार्य गर्न नहुने बताइएको छ । मुहूर्तचिन्तामणि लगायत ज्योतिष ग्रन्थका अनुसार शुक्र र वृहस्पती ग्रह अस्त हुनुभन्दा केही दिन अघि वृद्ध हुने र उदयपछिका केही दिन बालक हुने हुनाले अघिपछिका तीन–तीन दिन पनि शुभकार्यहरू गरिदैन ।

धार्मिक हिसाबमा दैत्यका गुरु शुक्र तथा देवगुरु बृहस्पती अस्त भएको समयमा व्रतबन्ध गर्न, विवाह गर्न,मूर्ति प्राण प्रतिष्ठा गर्न, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान, मन्दिर प्रतिष्ठा गर्न, कान छेदन गर्न,दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन । साथै गृहारम्भ, गृह प्रवेश तथा चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।

कहिले उदय हुन्छ ?

देवगुरु बृहस्पती फाल्गुन २ गते आईतबार पुर्वमा १२ बजेर ४२ मिनेटमा उदय हुन्छन् । बृहस्पती उदय भएपछि शुभ तथा मांगलिक कार्यहरु गर्न हुने भएपनि २०७७ माघको ३० गते शुक्र अस्त भई २०७८ बैसाखको ०७ गतेमात्र उदय हुने हुनाले यो समय सम्म शुभ कार्यहरु शास्त्रमा वर्जित गरिएकोछ । अग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १७ तारिकदेखि २०२१ अप्रिल २० तारिक सम्म लगभग ९४ दिन बृहस्पती र शुक्र अस्त हुदैछन् ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?