संसद विघटन सम्बन्धी मुद्दा : संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौं । संसद विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुनः सुनुवाइ शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना मल्ल अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले बहस शुरु गरेको हो । यसअघि शुक्रवार संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासले हेर्न वा बृहत पूर्ण इजलासले हेर्ने भन्नेमा बहस भएको थियो । त्यस्तै शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतवार (आज) बहस शुरु भएको हो ।

आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन् ।

त्यस्तै आजबाट छलफल निरन्तर हुने सर्वोच्चले जनाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी निर्वाचन घोषणा गरेसँगै त्यसको विरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?