नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन् ।
पुनले नेकपा विवाद अमुक नेताहरुबीचको पदीय भागबण्डा र वा सुख सुविधा प्राप्तिको झगडा नभई विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको उल्लेख गरे । केपी ओली समूहले अलोकतान्त्रिक र असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय झगडालाई बहाना बनाएको उनको टिप्पणी थियो ।
ओलीले गत जेठमै प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्डले संसदको पाँच वर्षे कार्यकाल मध्ये आधाआधा अवधि सरकारले नेतृत्व गर्ने लिखित सहमति बाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेको स्मरण मन्त्री पुनले गरे । ‘ओली गुटले केही नेताहरुको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको छ’, दाङको तुलसीपुरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले भने, ‘पदावधिका आधारमा आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौं । तर, केपी ओलीले विचार, सिद्धान्त, विधि र पद्धतिका लागि भएको लडाईंलाई ओली–प्रचण्डको लडाई, ओली–माधव नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि प्रचण्डले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस् । पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस् । कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव गर्नुभयो ।’
ओलीले आफू एक्लैले जनमत पाएको भ्रम फैलाएको पुनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया