जंगलमा पत्रकार सम्मेलन गर्दै अर्ध भूमिगत लक्ष्मण थारूले भने ‘अन्तिम विद्रोहको तयारीमा छौं’

टेक सिंह धामी/धनगढी । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।

उच्च अदालतको फैसलापछि फरार रहेका थारुले पत्रकार सम्मेलनमार्फत् विद्रोहमा जाने तयारी भएको बताएका हुन् । उनले भने, ‘हामी विभिन्न पक्षहरुसँग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौं ।’

उनले कानूनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने र सडकमार्फत् पनि विद्रोह गर्ने बताए ।

थारुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखेर उच्च अदालत पठाईएको बताउँदै भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ ।’

थारुले ओलीले संसद विघटन गरेर बेईमानी गरेको आरोप समेत लगाए । उनले सर्तसहित सरकारसँग वार्तासमेत नगर्ने बताए । जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?