सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. शेखर कोइराला

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको बताए । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?