शनिवारको छुट्टीमा बच्चाहरुलाई सिकाउनूस् यस्ता कुरा…

काठमाडौं । आज शनिवार । अधिकांश शैक्षिक संस्था तथा कार्यालयहरु विदा हुन्छन् । यही विदाको अवसर पारेर कतिजनाले घुम्न जाने योजना पनि बनाएका हुन्छन् । परिवारका सबै सदस्यको फुर्सद हुने दिन नै यही भएकाले होला यस दिन बाबुआमाले पनि समय मिलाएर आफ्ना छोराछोरीलाई पार्क, मार्केट, सपिङ मल, सिनेमा हल, मन्दिर आदि घुमाउन लगिरहेका हुन्छन् ।

आफ्ना छोराछोरीसँग धेरै भन्दा धेरै समय बिताउन पाउने भएकाले यही मौकामा अभिभावकहरुले साना नानीबाबुलाई समसामयिक विषयका बारेमा नयाँ कुरा सिकाउनु उयुक्त हुनसक्छ ।

वर्तमान समयको कुरा गर्दा कोरोना भाइरसले सारा विश्वको ध्यान तानिरहेको वेला तपाईका नानीबाबुलाई पनि कम्तीमा यो रोग के हो ? कसरी संक्रमण हुन्छ ? र, यसबाट बच्न कस्तो किसिमको सावधानी अपनाउनुपर्छ भन्ने जानकारी चाहिँ दिइराख्नुपर्दछ ।

फेरि यो सरुवा रोग भएकाले बालबालिकालाई बाहिर घुम्न लैजाँदा अत्यन्तै सतर्क हुन जरुरी छ ।

अभिभावकहरुले आफ्ना छोराछोरीलाई निम्न कुरा सिकाउनुपर्छ :

घरबाहिर जाँदा मास्कको अनिवार्य प्रयोगको बारेमा सिकाउने । मास्कको प्रयोगले कोरोना भाइरस मात्र नभएर अन्य श्वासप्रश्वास बाट सर्ने रोगको संक्रमणबाट पनि बचाउँछ भनेर बताउने ।

संक्रमित व्यक्तिले छोएको सामानहरुबाट पनि भाइरसको संक्रमण हुने भएकाले बालबालिकालाई सार्वजनिक स्थलमा निस्किँदा सकेसम्म अरुले छोएको सामान छुन नदिने वा नछुन सिकाउने ।

यदि त्यस्तो सामान छोएमा वा सार्वजनिक स्थलबाट फर्किसकेपछि वा कुनै बिरामी व्यक्तिको सम्पर्कमा आइसकेपछि राम्रोसँग साबुन पानीले हात धुन सिकाउने ।

घुम्न निस्किएको वेला ‘ह्यान्ड स्यानिटाइजर’ (हात सफा राख्ने एक किसिमको तरल पदार्थ) को प्रयोग गर्न सिकाउने ।

खाना खानुअघि र पछि, शौचालय प्रयोग गरेपछि पनि धेरैबेर लगाएर राम्रोसँग साबुन पानीले हात धुन सिकाउने ।

सार्वजनिक स्थलबाट फर्किसकेपछि हात धोएर मात्र आँखा, नाक, मुख जस्ता संवेदनशील अंगहरुमा छुनुपर्छ भनेर सिकाउने ।

घुम्न निस्किँदा रुमाल, टिस्यु पेपर, वाइप आदि बोक्न सुझाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?