कुनै पनि न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको छैन-सर्वोच्च अदालत

काठमाडौं– सर्वोच्च अदालतले कुनै पनि न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको जनाएको छ।

संवैधानिक इजलासमा विचाराधीन मुद्दाको सुनुवाइमा सहभागी न्यायाधीशहरु सपना प्रधान मल्लसहित चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर आलोचना भएपछि सर्वोच्चले समाचारको खण्डन गरेको हो । ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्‍जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दु:खद र खेदजन्य विषय हो’, सर्वोच्चका सह-प्रवक्ता देवेन्द्र ढकालले निकालेको विज्ञप्तिमा भनिएको छ ।

अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी समाचार सम्प्रेषण गर्दा न्यायपालिकाप्रति विश्वासनीयता र आमनागरिको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा प्रेस जगतकै विश्वासनीयतामा पनि प्रश्न आउने अदालतको ठहर छ ।

‘यसरी पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने गरी समाचार लेख्दा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुनुपर्छ’, सर्वोच्चले भनेको छ, ‘तसर्थ, यस्ता समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?