थारु बस्तीमा सखिया नाचको रमझम

टेक सिँह धामी/धनगढी– थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग गाउँबस्तीमा छाएको छ ।

कैलालीका थारु बस्ती अहिले गुन्जयमान बनेका छन्। महिलाहरु हुलका हुल बाँधेर थारु समुदायका घरघरमा गई नाचगान गर्न थालेका छन् भने पुरुषहरु महिलालाई सहयोग गर्न नाचमा मादल, मजिरा बजाएर सहयोग गर्न थालेका छन्।

कोरोना भाइरसका कारण मौलिक चाडपर्वहरु मनाउन नपाएका थारु समुदाय अहिले माघीलाई विशेष गरी मनाउन थालेका छन्। धनगढी–५ जाइँका थारु अगुवा विनय चौधरीका अनुसार अहिले गाउँगाउँमा सखिया नाच सँगै माघीको रमझम भइरहेको छ।

कोरोनाका कारण चेलीबेटी भेटघाट नभएको बताउँदै उनले भने, ‘अहिलेसम्मका चाडपर्वमा कोही कसैको घरमा गएका थिएनौ, भेटघाटै भएको थिएन, अहिले भने माघीले सबैलाई मिलन गराएको छ ।’

माघे संक्रान्तिको दिन बिहानै नजिकैको नदी तथा तलाउमा नुहाएर आफूभन्दा ठूला तथा मान्यजनलाई ढोग्ने र आशीर्वाद माग्ने गरिएको अर्का स्थानीय यूवा किरण चौधरीले बताए । उनले भने, ‘आफन्त तथा मान्यजनसँग आशीर्वाद मागेर दिनभर हामी नाचगानमै व्यस्त हुन्छौं ।’

पर्वका अवसरमा थारु समुदायले आ आफ्नो गाउँको बडघर र चौकीदारसमेत चयन गर्दछन् । अन्य समुदायले माघीका रूपमा मनाउने माघे संक्रान्तिलाई थारू समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?