२०७७, ३ माघ शनिवार १३:२७

मन्दिरमा किन पालना गरिन्छ धार्मिक नियम ? विज्ञ भन्छन्, ‘विज्ञान पनि सहमत छ’

खाली खुट्टा पस्नेदेखि फूल चढाउनेसम्म कारण यस्तो


प्रकाशित मिति : २०७७, ३ माघ शनिवार १३:२७

काठमाडौं । मान्छे जतिसुकै नास्तिक किन नहोस् तर, मठमन्दिरमा गएपछि एक किसिमको छुट्टै शान्ति मिल्छ भन्ने कुरालाई नकार्न गाह्रै पर्छ ।

अगरबत्तीको मगमग वास्ना, घण्टीको आवाज, मन्त्र तथा प्रार्थनाको ध्वनि आदिले शरीरमा संयमता थपिदिन्छ । हात जोडेर, आँखा बन्द गरी जब हामी भगवानको अघि उभिन्छौं तब जीवनका सबैभन्दा सुखका कुरादेखि सबैभन्दा दुखका कुरा समेत खोलेर राखिदिन्छौं ।

कहिले सोच्नुभएको छ मन्दिरमा पुग्दा यस्तो आनन्दमयी अनुभूति किन हुन्छ ?

विज्ञ भन्छन्, ‘मन्दिर यस्तो ठाउँ हो जहाँ जात, लिङ्ग, पेशा, उमेर, स्तर आदि कुनै कुराको भेदभाव हुँदैन । सबैजना प्राय खुल्ला हृदय र सकारात्मक सोच लिएर मन्दिर आउँछन् जसले मन्दिर परिसरमा सकारात्मक तरंगहरु सिर्जना गरिदिन्छ । र, मान्छेले त्यही तरंग आफ्नो मनमस्तिष्कले सोस्छ ।’

फेरि मन्दिर जाँदा हामी ससाना रीतिरिवाज पनि किन ध्यानपूर्वक मान्छौं ? कहिले सोच्नुभएको छ ? हामी मन्दिरमा खाली खुट्टा किन पस्छौं होला ? फूल किन चढाउँछौं होला ? घण्टी किन बजाउँछौं होला ?

लोकपथले संस्कृतिविद तथा विज्ञहरुसँग सोधपुछ गरेर यस्ता रीतिरिवाजहरु मान्नुको कारण पत्ता लगाएको छ ।

किन खाली खुट्टा मन्दिर पसिन्छ ? कारण यस्तो

यो संसारको जुनसुकै कुनामा भएको मन्दिरमा पग्नुहोस्, त्यहाँ तपाईलाई चप्पल, जुत्ता लगाएर मन्दिरभित्र पस्ने अनुमति हुँदैन ।

विज्ञहरुका अनुसार मन्दिरमा अत्यन्तै बढी चुम्बकीय र विद्युतीय उर्जा हुन्छ । जसलाई मन्दिरको भूईँले पनि सोसेको हुन्छ । त्यसैले, यस्तो भूईँमा खाली खुट्टा हिँड्नाले हाम्रो शरीरले पनि सकारात्मक उर्जा प्राप्त गर्दछ ।

चप्पललाई अहंकारको प्रतीक मानेर मन्दिर पस्दा आफ्नो अहमतालाई बाहिर छोडेर पस्नु पर्छ भन्ने अर्को मान्यता पनि रहेको विज्ञ बताउँछन् ।

मन्दिरमा घण्टी किन बजाइन्छ ?

मन्दिरको एउटा विशेषता त्यहाँ झुन्ड्याइएका भिन्नभिन्न आकारका घण्टहरु पनि हुन् । मन्दिर परिसरमा पस्नासाथ घण्टहरुको संयोजित ध्वनिले एक किसिमको सुमधुर माहोल बनाइदिएको हुन्छ । हावाको वेगमा हल्का हल्लिँदा आएको मसिनो धुन होस् या जोडतोडले बजाउँदा निस्कने भक्तिको झंकार जुनै आवाजले पनि हृदयलाई आनन्द महशुस गराइदिन्छ । तर, कहिले सोच्नुभएको छ यो रीति हामीले वर्षौंदेखि किन निभाउँदै आएका छौँ ?

मन्दिरको घण्ट लिड, तामा, पित्तल, जिंक, निक्कल लगायत विभिन्न धातूबाट निर्मित हुन्छ । यस्ता धातूबाट निस्किएको आवाजले आत्मालाई शान्त बनाउँछ । त्यस्तै, यस्तो ध्वनिले मानिसको श्रवण शक्तिमा पनि सुधार ल्याउँछ र मस्तिष्कका दुवै गोलार्धका बीच सामञ्जस्य कायम गर्न मद्दत पु¥याउने विज्ञ बताउँछन् ।

मन्दिरमा कपूर किन जलाइन्छ ? फूल किन चढाइन्छ ?

मन्दिरमा होस् या घरमा गरिने नित्य पूजा, पूजाको थालीमा अनिवार्य राखिन्छन् : अविर, केसरी, फूल, कपूर, तील जौ लगायत सामाग्रीहरु । शताब्दीदेखि हाम्रो पूजा गर्ने परम्परा र शैली उस्तै रहिआएको छ । विना प्रश्न, विना उल्झन हामी किन एउटै तरिकाले पूजा गर्छौं ? किन त्यही सामाग्रीको प्रयोग गर्छौं ?

कपूर जलाउनुको दुई मूख्य कारण रहेको विज्ञ बताउँछन् । अक्सर आरती गर्दा थालीमा कपूर बालिन्छ किनभने यसले दृष्टि तेज बनाउने विज्ञहरुको भनाइ छ । आरती सकेपछि हामी आफ्नो हत्केलालाई दियोको माथि रोखर त्यसलाई आँखा र टाउकोमा लगाउँछौं । यसो गर्दा हाम्रो स्पर्श क्षमता सक्रिय हुन्छ ।

त्यस्तै, कपूर जस्तै आरतीको थालीमा छुट्दै नछुट्ने अर्को चीज भनेको फूल हो । गण्ेशलाई चढाइने घण्टी फूल होस् या लक्ष्मीलाई कमलको फूल, फूलविना पूजा आराधना अपुरो भएजस्तो लाग्छ । आखिर भगवानको आराधनामा फूलको के महत्व हुन्छ ? विज्ञ भन्छन्, फूलको कोमल स्पर्शले हाम्रो स्पर्श शक्तिलाई सुदृढ पार्दछ ।

मूर्तिहरुको परिक्रमा किन गरिन्छ ?

हिन्दू धर्म संसारकै सबैभन्दा पुरानो धर्म हो । यस धर्मसँग सम्बन्धित हरेक कुरा हामीले आफ्ना अभिभावकहरुबाट सिक्दै आएका छौँ । हाम्रा अभिभावकहरुले पनि उहाँहरुको अभिभावकबाट सिक्नुभएको हुनसक्छ । यसरी रीतिरिवाजहरु पुस्तान्तरण हुँदै अहिलेको समयसम्म आइपुग्दा हामीलाई कतिपय तौरतरिकाहरु चित्त नबुझ्न सकेको हुन्छ या त किन गरिन्छ भनेर थाहै नहुन सक्छ ।

यद्यपि, हामी वर्षौदेखि चलिआएको परम्परालाई यसै छोडिहाल्न चाहिँ सक्दैनौँ । अहिले पनि हामी त्यही तरिकाले पूजा गर्छौं जसरी हामीले सानैदेखि देख्दै आएका छौं र आफूभन्दा ठूलाहरुबाट सिक्दै आएका छौं ।

यही अन्तर्गत पर्दछ पूजा गरिसकेपछि भगवान या मन्दिरलाई फन्को लगाउने कार्य पनि । विभिन्न पूजा सामाग्रीले पूजेर, घण्टी बजाएर, प्रार्थना गरेर पूजा सकिसकेपछि भगवानको मूर्ति अथवा मन्दिरकै वरिपरि घुम्ने चलन रहेको छ जसलाई हामी प्रदक्षिणा पनि भन्छौँ ।

प्रदक्षिणाको शाब्दिक अर्थ हो, ‘सही मार्गतिर’ त्यसैले जब प्रदक्षिणा गरिन्छ तब हाम्रो शरीरले मन्दिर र मूर्तिहरुबाट सकारात्मक उर्जा प्राप्त गर्दछ । यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने विश्वास छ ।

त्यसैले हामीले पालना गर्ने धार्मिक नियमहरु रुढीवादी, अन्धविश्वासी सोचका उपज मात्र होइनन् प्रतीकात्मक र वैज्ञानिक हिसाबले प्रमाणित पनि छन् ।

प्रतिक्रिया दिनुहोस