एकसातादेखि माडीमा विद्युत् सेवा अवरुद्ध

रत्ननगर, चितवन, १७ असोज । चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैँ मनाएका छन् । आजसम्म पनि विद्युत् सेवा शुरु नहुँदा स्थानीयवासी पीडित भएको माडीका गोविन्द न्यौपानेले जानकारी दिए । यहाँ चार हजारभन्दा बढी उपभोक्ता छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा शुरु गर्न समय लाग्ने जनाएको छ । केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार यही असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् बन्द भएको हो । दशैँ बिदाका कारण विद्युत् सञ्चालनको प्रयास शुरु हुन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ रहेका चार हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन् । विद्युत् नहुँदा यहाँको टेलिफोन सेवामा समेत असर गर्ने गरेको न्यौपाने बताउछन । अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा शुरु भएको थियो । विद्युत् बालेपछिको पहिलो दशैँसमेत उपभोक्ताले अन्धकारमा मनाउनुपरेको छ । यसअघि पनि पटक–पटक विद्युत् सेवा बन्द हुँदा भारतबाट मेसिन ल्याएर खराबी पत्ता लगाई सेवा दिइएको थियो । उक्त मेसिन नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको इन्जिनियर पौडेल बताउछन । माडीमा २०५७ सालतिर एक परियोजनाले विद्युत् सञ्चालनका लागि काम शुरु गरेको थियो । सो समयमा पोल गाडेर विद्युत् तार लगाइएपछि चितवन निकुञ्जका कारण विद्युत् सञ्चालन हुन नसक्दा तार र पोल जीर्ण भयो । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा २०६७ सालमा यहाँ भरतपुर—चनौली—माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले पुनः विद्युतीकरणको काम थालेको थियो । विसं २०७३ कात्तिकमा परीक्षण सफल भएर मंसिरमा विद्युत् सेवा शुरु भएको यहाँका बासिन्दा पटक–पटकको विद्युत् समस्याका कारण पीडित हुँदै आएका छन् । निकुञ्जमा करिब सात किमी क्षेत्रमा जमिनमुनिबाट विद्युत्को तार बिच्छ्याइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?