२०७७, ३ माघ शनिवार १०:२८

इच्छाराज तामाङसँगै ओरालो लाग्दै सिभिल बैंक, कसरी सक्ला त प्रतिस्पर्धामा खरो उत्रिन ?


प्रकाशित मिति : २०७७, ३ माघ शनिवार १०:२८

काठमाडौं । बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङको ओरालो यात्रासँगै सिभिल बैंक पनि कमजोर बन्दै गइरहेको छ ।

सम्पत्ति शुद्धीकरण विभागबाट सम्पत्ति छानविनमा तानिएका सिभिल बैंकका अध्यक्ष तामाङले सिभिल बैंकलाई पनि प्रगतिको पथमा अगाडि लान सकेनन् । अहिले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) गोविन्द गुरुङ छन् । यसअघि सीइओका रुपमा किशोर महर्जन थिए । उनी लामो समयसम्म बैंकिङ क्षेत्रमा काम गरेका अनुभवी बैंकर थिए । तर राम्रो ‘पर्फमेन्स’ गर्ने होडमा महर्जनलाई निकालेर गुरुङलाई सीइओ बनाइयो ।

यद्यपि नयाँ सीइओ परिवर्तन गरे पनि बैंकको प्रगति भने सन्तोषजनक भएको छैन ।

यस्तो छ बैंकको ओरालो लाग्दो यात्रा…

सिभिलले लामो समयदेखि खासै राम्रो प्रगति गर्न सकेको देखिँदैन । पछिल्लो उदाहरण हो, चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण ।
यस अवधिमा बैंकले निकै कमजोर प्रदर्शन गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा ३९.१७ प्रतिशतले नाफा घटाएको छ । बैंकले यस अवधिमा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकले गत आवको सोही अवधिमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकको वितरणयोग्य नाफामा पनि धक्का लागेको देखिएको छ । यस अवधिमा सिभिलको वितरण योग्य नाफा १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटले नाफा खुम्चिएको बैंकको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ मात्रै छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड २९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, बैंकले सञ्चालन मुनाफा पनि घटाएको छ । बैंकको सञ्चालन मुनाफा २२ करोड ५९ लाख ५४ हजार रुपैयाँबाट घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । कुनै पनि कम्पनीको जगेडा कोष जति बलियो छ, कम्पनी पनि त्यति नै बलियो हुन्छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटका कारण बैंकको प्रगतिमा धक्का लागेको हो । बैंकले खराब कर्जा भने घटाएको छ ।

बैंकको खराब कर्जा २.९३ प्रतिशतबाट घटेर १.५० प्रतिशतमा झरेको छ । बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड पुग्ने छ ।
त्यस्तै, बैंकले गत आर्थिक वर्षमा पनि खासै राम्रो प्रगति गर्न सकेको छैन । कोरोनाको संक्रमण शुरु नहुँदै पनि प्रगतिमा छलाङ लगाउन नसकेको बैंकमा कोरोना महामारीपछि त स्वभाविक रुपमै असर पर्ने नै भयो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा पनि सन्तोषजनक व्यापार गरेको छैन । बैंकले त्यस अवधिमा बैंकको खुद नाफा ३५.३९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७० करोड ७४ लाख रुपैयाँ थियो । तर बैंकले नाफा घटाएर गत वर्षको चौथो त्रैमासमा ४५ करोड ७० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफामा पनि भारी गिरावट आएको देखिएको छ । बैंकले त्यस अवधिमा ६७ करोड ४२ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । यस्तो मुनाफा अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । त्यस अवधिमा बैंकले २५ करोड २१ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको थियो ।

त्यस्तै, गत वर्षको चौथो त्रैमासमा बैंकको रिजर्भको आकार भने १२.२१ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँ रहेको रिजर्भमा गत वर्षको चौथो त्रैमासमा बढेर १ अर्ब ८० करोड रुपैयाँ पुगेको हो ।

बैंकको खराब कर्जा पनि यस अवधिमा केही मात्रामा बढेको देखिएको छ । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) २.३८ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष यो अनुपात २.३७ प्रतिशत थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा पनि बैंकको पर्फमेन्स राम्रो देखिँदैन । यस अवधिमा पनि बैंकले नाफा घटाएको छ । यस अवधिमा नाफा २७ प्रतिशतले घटेर ३६ करोड ५ लाख ३३ हजार रुपैयाँमा सीमित भएको देखिन्छ । अघिल्लो वर्षको त्यसै अवधिमा बैंकले ४९ करोड ३८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकको त्यस अवधिमा वितरण योग्य नाफा पनि घटेको छ । बैंकको वितरण योग्य नाफा १९ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको छ । सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको देखिएको छ । बैंकले सञ्चालन नाफा २९.६५५ ले घटेर ५३ करोड ८७ लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी भने ८.५९५ ले बढेर १ अर्ब ७० करोड ८९ लाख ७९ हजार रुपैयाँ पुगेको देखिएको छ ।

यी त सिभिल बैंकका प्रतिनिधि तथ्यांक मात्रै हुन् । सिभिलले केही वर्ष वाहेक अधिकांश वर्ष बैंकिङ कारोबार सन्तोषजनक गरेको छैन । अहिले वाणिज्य बैंकहरु आफ्नो पूँजी २०-२५ अर्ब पु-याउने होडमा छन् । तर सिभिलको चुक्ता पूँजी ९ अर्ब पनि पुगेको छैन । त्यसैले बैंकलाई बजारमा टिकिराख्न र बलिया बैंकसँग प्रतिस्पर्धा गर्न सजिलो छैन । त्यसैले पनि नेपाल राष्ट्र बैंकले कमजोर बैंकको रुपमा सिभिललाई सूचीकृत गरेको थियो । जसलाई राष्ट्र बैंकले फोर्स मर्जमा समेत लाने योजनामा छ । र त्यसका लागि सिभिलले उपयुक्त वित्तीय संस्था पनि खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस