एकसातादेखि माडीमा विद्युत् सेवा अवरुद्ध

रत्ननगर, चितवन, १७ असोज ।चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ ।विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैँ मनाएका छन् । आजसम्म पनि विद्युत् सेवा शुरु नहुँदा स्थानीयवासी पीडित भएको माडीका गोविन्द न्यौपानेले जानकारी दिए । यहाँ चार हजारभन्दा बढी उपभोक्ता छन् ।नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा शुरु गर्न समय लाग्ने जनाएको छ ।केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार यही असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् बन्द भएको हो । दशैँ बिदाका कारण विद्युत् सञ्चालनको प्रयास शुरु हुन सकेको छैन ।विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ रहेका चार हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन् । विद्युत् नहुँदा यहाँको टेलिफोन सेवामा समेत असर गर्ने गरेको न्यौपाने बताउछन ।अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा शुरु भएको थियो । विद्युत् बालेपछिको पहिलो दशैँसमेत उपभोक्ताले अन्धकारमा मनाउनुपरेको छ ।यसअघि पनि पटक–पटक विद्युत् सेवा बन्द हुँदा भारतबाट मेसिन ल्याएर खराबी पत्ता लगाई सेवा दिइएको थियो । उक्त मेसिन नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको इन्जिनियर पौडेल बताउछन ।माडीमा २०५७ सालतिर एक परियोजनाले विद्युत् सञ्चालनका लागि काम शुरु गरेको थियो । सो समयमा पोल गाडेर विद्युत् तार लगाइएपछि चितवन निकुञ्जका कारण विद्युत् सञ्चालन हुन नसक्दा तार र पोल जीर्ण भयो ।भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा २०६७ सालमा यहाँ भरतपुर—चनौली—माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले पुनः विद्युतीकरणको काम थालेको थियो ।विसं २०७३ कात्तिकमा परीक्षण सफल भएर मंसिरमा विद्युत् सेवा शुरु भएको यहाँका बासिन्दा पटक–पटकको विद्युत् समस्याका कारण पीडित हुँदै आएका छन् । निकुञ्जमा करिब सात किमी क्षेत्रमा जमिनमुनिबाट विद्युत्को तार बिच्छ्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?