परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, बैठकमा सीमा सम्बन्धमा छलफल हुने

काठमाडौँ– नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहिवार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री ज्ञवालीले भोलि शुक्रवार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपिन रावतसँग बिहिबार उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच नेपाल-भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका थिए । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ ।

मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल छन्  ।

नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ । सत्र महिनाअघि आयोगको पाँचौ बैठक काठमाडौँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?