भाइरल थुक ! प्रधानमन्त्री ओलीदेखि आङकाजीसम्म (भिडियो)

रामजी बलामी/काठमाडौं– हाम्रो समाजमा एउटा भनाइ छ, ‘बाँच्नु मात्रै पर्छ अनेक देख्न पाइन्छ ।’ मान्छेलाई त भाइरल हुन अचेल एकदम सजिलो छ ।

अचेल भाइरल हुन कुनै राम्रै काम गर्नुपर्छ भन्ने छैन, कुनै एउटा उत्पट्याङ गरेपनि रातारात भाइरल भइन्छ । मान्छे मात्रै होइन बेलावखत पशुपंक्षीहरु पनि भाइरल भएको हामीले देख्दै आएका छौँ । तर अचम्म त के छ भने हिजोआज ‘थुक’ पो भाइरल भईरहेको छ ।


१. राष्ट्रिय सभामा प्रधानमन्त्रीको थुक

यो प्रसंग गत पुस २६ गते आइतवारको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा करिव ४० मिनेट भाषण गरे । भाषण गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव र भारतीय सेनापतिको नेपाल भ्रमण, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताइरहेका थिए । बोल्दाबोल्दै प्रधानमन्त्रीको मुखमा केही अड्किएछ सायद । प्रधानमन्त्री ओलीले राष्ट्रियसभामाको रोस्ट्रममै थुकिदिए ।

प्रधानमन्त्री ओलीको यो सम्वोधन अधिकांश संचारमाध्यमले लाइभ गरेका थिए । नेकपाभित्रको अन्तरविरोध चर्किएसँगै प्रधानमन्त्री ओलीको सम्वोधनमा निकै घोचपेच हुन थालेको थियो । त्यसकारण उनको भाषण सुन्ने जमात पनि बाक्लिएका थिए । यस्तो अवस्थामा ओलीले रोष्ट्रममै थुकेपछि उनको आलोचना एकाएक चुलियो । प्रधानमन्त्रीले थुकेको क्लिप अनलाइन, युट्युव र टिकटकमा निकै भाइरल भयो । कतिले उनलाई अशोभनीय भन्दै गालिगलौच पनि गरे ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले भने प्रधानमन्त्रीको थुकाइ नियतवश नभई भाषण गर्दा असहज भएर कठिनाईका कारण भएको बताएका छन् । राष्ट्रियसभाको रोस्ट्रमनजिक थुकदानी (स्पिट बक्स) नहुँदा यस्तो हुन पुगेको उनी बताउँछन् । संसद सचिवालयले नजिकै स्पिट बक्स राखिदिएको भए यो अवस्था आउँदैनथ्यो सायद।

२. जि न्यूजको अन्तर्वार्तामा थुकको प्रसंग

प्रधानमन्त्रीले भारतीय टेलिभिजन जि न्यूजका सम्पादक सुधिर चौधरीलाई दिएको अन्तर्वार्ता अहिले भाइरल भइरहेको छ ।

यो सामाग्री तयार पार्दासम्म यो अन्तर्वार्ता ६ लाख ४७ हजार पटक हेरिएको छ । युट्युब ट्रेन्डिङमा दोस्रो नम्वरमा पुगेको यो अन्तर्वार्तामा करिव ८ हजार वटा प्रतिक्रिया आएको छ । जसमा अधिकांशले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् ।

यो अन्तर्वार्ताका क्लिपहरु फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा उत्तिकै भाइरल बनिरहेको छन् । यो अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले थुकको प्रसंग निकालेका छन् । पुर्खाहरुको बयान गर्ने क्रममा उनले यो प्रंँग निकालेका हुन् ।

३. थुक्ने भाँडोसहित विवेकशिल साझाको प्रदर्शन

गत मंगलवार विवेकशील साझा पार्टीले संसद विघटनविरुद्ध काठमाडौं दाँत माझेर प्रदर्शन गर्याे । सोही क्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रोष्ट्रममा उभिएर ‘थुकेको’ घटनाको पनि प्रतिकात्मक रुपमा विरोध गरे ।

जथाभावी थुक्नु सार्वजनिक स्वास्थ्यको लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नभएको भन्दै विवेकशील पार्टीले थुक्ने भाँडोसहित माइतीघरमा प्रदर्शन गरेको हो ।

४. माधव कुमार नेपालको थुक टिप्पणी

प्रधानमन्त्री ओलीले थुकेको विषय सेलाउन नपाउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि थुककै प्रसंग निकालेका छन् । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष समेत रहेका नेपालले आफ्नो समूहको गण्डकी भेलालाई सम्बोधन गर्दै आफ्नो कार्यकर्ताको थुक, खकार र आवश्यक परे डिएनए पनि परीक्षण गरेर मात्र जिम्मेवारी दिने गरेको बताएका हुन् ।

सम्वोधनका क्रममा उनले प्रधानमन्त्री ओलीलाई केवल गुट चलाउन मात्रै आउने टिप्पणी गरे । उनले ओलीलाई हनुमानहरु, अरिङ्गालहरु, बा भनिदिने र उनको जय भन्नेहरु मात्रै मनपर्ने बताए।

५. पृथ्वीनारायणलाई आङकाजीको थुक

हरेक वर्ष झै यो वर्ष पनि गत पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइयो । विभिन्न सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रमहरु अयाोजना ग-यो । तर कतिपय जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोध जनाउदै आएका छन् ।

यसपटक पनि उनीहरुले पृथ्वीनारायणलाई थुक्ने कार्यक्रम राखेका थिए । सो दिन आङकाजी शेर्पासहितको समूहले कीर्तिपुरमा पृथ्वीनारायण शाहको प्रतीक ढुंगालाई थुक्ने कार्यक्रम आयोजना ग-यो । यो विषयले पनि थुकको चर्चा भयो ।

६. वडाध्यक्षको ‘थुक सूचना’

अहिले मात्रै होइन गत वैशाख २३ गतेपनि थुक निकै भाइरल भएको थियो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ ले निकालेको सूचनाको निकै चर्चा भएको थियो । वडाध्यक्ष मुकेश शेर्पाले जारी गरेको यो सूचनामा ‘कोरोना सर्ने भएकाले तास खेल्न नहुने, नत्र खेल्न हुने’ जस्तो आशय व्यक्त गरिएको थियो ।

‘जुवातास खेल्दा वा तास फिट्दा जिब्रोमा हातले थुक लगाएर फिट्ने प्रचलन भएको हुँदा नेपाल सरकार गृह मन्त्रालयको आदेश अनुसार रुपैयाँ आदानप्रदान गर्दा थुक लगाउँदा हात जिब्रोमा छुँदा कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने सम्भावना भएकाले सबै टोलहरुमा जुवातास नखेल्न नखेलाउन हुन सबैमा यो सुचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ । सूचना यतिमै सिमित छैन । जुवातास खेलेमा वा कोरोना संक्रमण भएको थाहा पाएमा गृह मन्त्रालयको कानून वमोजिम सजाय हुने समेत उल्लेख छ ।

लकडाउनका कारण घर बसेर सामाजिक सञ्जालमा रमाइरहेकाहरुका लागि यो सूचना मसलासावित भएको थियो । यो सूचना यतिधेरै भाइरल भयो कि वडा कार्यालय अर्काे सूचना निकाल्न वाध्य भयो । पछिल्लो सूचनामा भनिएको छ । ‘यस विषम परिस्थितिमा कुरामा भन्दा काममा विश्वास गर्नुहुन सबैमा आग्रह गर्न चाहन्छु ।’

७. कोरोना महामारीमा थुक आक्रमण

थुकले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । कोरोना भाइरस सर्ने मुख्य माध्यम भनेको थुक, -याल र सिंगानबाट हो । त्यसकारण मास्कलाई अनिवार्य गरिएको छ । तर अनौठो त के भने यही वेला थुक आक्रमणको समस्या बढ्यो ।

अस्ट्रेलियादेखि अमेरिकासम्म थुक आक्रमणका केसहरूको उजुरी बढेको छ । थुकको सबभन्दा बढी शिकार प्रहरी अधिकारीहरू बनिरहेका छन् । बेलायतमा १४ वर्षीय एक किशोरलाई जानजान थुकेको र मानिसतर्फ फर्केर खोकेकोमा अभियोगमा कारवाही गरियो ।

उत्तरपूर्वी इंग्ल्यान्डको कार्लाइलमा ३५ वर्षीय एक व्यक्तिले तीनजना प्रहरी अधिकारीलाई थुकेको आरोप छ । उनलाई प्रहरीले होस्टलमा बस्न भनेपछि उनले थुकेको बताइएको छ ।

यस्तै क्यालिफोर्नियामा एकजना महिलाले एक किशोरलाई सामाजिक दूरी कायम राख्न भन्दा उसले आफूतिर फर्केर खोकेको महिलाले दाबी गरेकी थिईन् । किशोरले आफूलाई धक्का दिएको अनि एकजना मान्छेलाई ल्याएको र त्यो मान्छेले आफूलाई थुकेको उनले बयान दिएकी थिइन् ।

छिमेकी मुलुक भारतको दिल्लीमा ४० वर्षीय एक पुरष एक महिलालाई थुकेर उनलाई कोरोनाभाइरस भनेको आरोपमा पक्राउ परेका थिए । मणिपुरको यो घटनाले भारतमा ठूलो तहल्का मच्चिएको थियो।

थुक्नेलाई भन्दा देख्नेलाई लाज

थुक्नु नराम्रो नभएपनि समय परिस्थिति नमिल्दा यसले ठूलो अप्mठेरो पार्छ । थुक्नुलाई घृणा गरेको मानिन्छ । त्यसकारण कोही मान्छेलाई हेरेर थुक्नु अशुभ र अमानवीय व्यवहार मानिन्छ । जथाभावि थुक्दा रोग सर्ने संभावना पनि उत्तिकै हुन्छ । र्याल र खकार मात्रै होइन पान खाएर जथाभावि पिच्च पिच्च थुक्नेहरु पनि हुन्छन् । पान खानेलाई पिच्च थुक्दा गर्व लाग्ने होला अरुलाई चाहिँ वाकवाकि लागेजस्तो हुन्छ । त्यसकारण जथाभावि थुक्ने बानी त्यागौँ ।

थुक नआउनु स्वास्थ्य समस्या

जथाभावि थुक्नु नराम्रो भएपनि थुक मानव शरिरका लागि भने अत्यावश्यक पदार्थ हो । हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन् । ट्युमर, सर्भिकल क्यान्सर, डायबिटिजिको अवस्था पत्ता लगाउन पनि थुकको परीक्षण गरिन्छ ।

थुकमा ब्याक्टेरिया बिरोधी तत्व, मुखलाई संरक्षण गर्ने तत्व हुन्छ । थुक भएन भने मुखको संक्रमण, अल्सर लगायत संक्रमण हुने खतरा हुन्छ ।
हाम्रो शरिरमा तीन प्रकारको थुक ग्रन्थी हुन्छ । गालामा पारोटिड, चिउडोमा सबम्याडिबुलर र जिबो मुनि सबलिग्वल गरी तीन प्रकारको थुक ग्रन्थी हुन्छ । यी ग्रन्थीहरुले एउटा नलीमार्फत मुखमा थुक वा ¥याल पठाउँछन् ।

लन्डनस्थित दन्तचिकित्सक डा. मेरभन ड्रेयनका अनुसार थुकमा प्रतिरोधी क्षमता र अम्लियपनलाई तटस्थ बनाउने शक्ति हुन्छ । थुकमा सम्भावित व्याक्टेरियाबिरोधी तत्व हुन्छ । निरन्तर थुक आउँदा त्यसले रोग उत्पन्न गर्ने व्याक्टेरिया पखालेर फालिदिन्छ । यति मात्रै होइन थुकमा क्यालिसम भएकोले दाँतलाई बलियो बनाउँछ ।

तपाईलाई अचम्म लाग्ला, औषत मानिसले दैनिक १ देखि २ लिटर थुक उत्पादन गर्छ । थुक नहुने भनेको स्वास्थ्यको समस्या हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?