कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् अर्थतन्त्रका सूचकहरु

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’का कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परिरहेका बेला नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच (मङ्सिर) महिनासम्मको मुलुकको अर्थतन्त्र सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

व्यापार घाटा

राष्ट्र बैंकका अनुसार गत मङ्सिरसम्म मुलुकको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ पुगेको देखिएको छ ।

निर्यात

यस अवधिमा निर्यात ५.१ प्रतिशतले वृद्धि भएको छ भने आयात ९.५६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । निर्यात वृद्धि भइ ५० अर्ब ६ करोड रुपैयाँ पुगेको छ भने आयात घटेर ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वस्तुगत आधारमा अलैँची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पस्मिना लगायतका वस्तुको निर्यात बढेको देखिएको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, उनी गलैँचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय वाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

आयात

राष्ट्र बैंकको मङ्सिरसम्मको तथ्यांकले गत वर्षको तुलनामा यस वर्षको मङ्सिरमा आयात घटेको देखाएको छ । यस अवधिमा कूल वस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको देखिएको छ । राष्ट्र बैंकका अनुसार भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय वाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको देखिएको छ ।

उपभोक्ता मुद्रास्फीति (मुल्य वृद्धि)

राष्ट्र बैंकका अनुसार गत मङ्सिरसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस मङ्सिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार मङ्सिरमा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आर्थिक वर्षको मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालू खाता

राष्ट्र बैंकका अनुसार कार्तिक महिनासम्म २० अर्ब रुपैयाँले बचतमा रहेको चालू खाता घाटामा देखिएको छ । मङ्सिर महिनासम्ममा २१ अर्ब ३२ करोड रुपैयाँले चालू खाता घाटामा थियो । अघिल्लो वर्षको मङ्सिर महिनासम्म अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा थियो । आयात र खर्च बढेका कारण चालू खाता घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति

राष्ट्र बैंकको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार शोधानान्तर स्थिति बचतमा रहेको देखिएको छ । यस अवधिमा शोधानान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

रेमिट्यान्स (विप्रेषण)

राष्ट्र बैंकका अनुसार मङ्सिर महिनासम्ममा ४ खर्ब १६ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ । मंसिरमा मात्रै ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कोरोना भाइरसको संक्रमणका कारण कयौँ कामदारको रोजगारी गुमेको, तलब कटौती भएको लगायतका कारण राष्ट्र बैंकले रेमिट्यान्स जुन रुपमा घट्ने आँकलन गरेको थियो सो अनुसार रेमिट्यान्स घटेन । चालू आर्थिक वर्षको शुरुवातदेखि नै रेमिट्यान्सको वृद्धिदर निकै बढ्दै गएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्षको ५ महिनामा १०.९ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्स बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने कोभिडको कारण घटेको देखिएको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

वैदेशिक लगानी

राष्ट्र बैंकका अनुसार नेपालमा भित्रिने प्रत्यक्ष विदेशी लगानीमा ३१.५ प्रतिशतले घटेको देखिएको छ । गत वर्षको अन्तिमतिर कोरोना महामारी फैलिएपछि त्यसको असर वैदेशिक लगानीमा पनि परेको छ । मङ्सिर मसान्तसम्म वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?