शंकर पोखरेल भन्छन्- ‘संसद विघटन हुने दिन प्रचण्डलाई भेट्न गएको थिएँ’ तर…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकतालाई बचाउन तत्परता नदेखाएको आरोप लगाएका छन् ।

संसद विघटन हुने दिन पनि आफू पार्टी एकता रक्षाको लागि प्रचण्डलाई भेट्न निवासमा गएको र पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले विकल्पहरु सुझाएको बताए । तर त्यसमा प्रचण्ड सकारात्मक नभएको बताए ।

“प्रतिनिधि सभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा ।त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिए । तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन ।” उनले भने ।

मुख्यमन्त्री पोखरेलले प्रचण्डमा पार्टी एकतालाई जोगाएर अघि बढ्ने भन्दापनि शक्ति समिकरणका माध्यमबाट अघि बढ्ने कुरामा रुचि देखाएको बताए । त्यहि कारण त्यति बेलै देखि पार्टी एकता कमजोर धरातलमा अडेको बताए । संसद विघटनपछि पार्टी विभाजन भएपनि पार्टीको दुई प्रवृतिलाई अन्तरघुलन हुने अवसर प्रदान गरेको दाबी गरे । जसमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको साथमा पूर्व माओवादी निकट रामबहादुर थापा बादल र प्रचण्डको साथमा पूर्व एमाले समूहका माधव कुमार नेपाल रहेको बताए ।

“तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमिकरणका माध्यमवाट अघि वढ्नेकुरामा नै हमेसा रुची देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामवहादुर थापा वादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिरावाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?