नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित

काठमाडौँ- नेपाल बैंक लिमिटेडको ६१ औं वार्षिक साधारण सभाबाट चार प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

बैंकको  सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा आज सम्पन्न साधारण सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२०० को ४  प्रतिशतका दरले हुन आउने रु.४५,१३,१२,८०८ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने रु.१,३५,३९,३८,४२४ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

सभाले  साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१२,६३,६७,५८,६२४ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन्।

सिइओले बुझे ४६ लाख ९६ हजार हजार तलब भत्ता

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ता बापत बुझेका छन् । बैंकको साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिबेदनमा सिइओ अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब तथा १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख गरिएको छ ।

बैंकले गत बर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ गरेको छ । त्यस्तै,बैंकको सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?