‘ओली विध्वंसकारी मान्छे, सधै बेइमानी र जालझेल गरे’- माधव नेपाल 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् ।

बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित कार्यकता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरेका हुन् । ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफुहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए । पार्टीको बहुमत आफुहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे ।

आफ्नो पार्टीमा आउनेहरुको उचित मुल्यांकन र सम्मान गरिने उनको भनाई छ । उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफुहरु नै हुने दाबी गरे । सुर्य चिन्ह आफुहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आव्हान गरे ।

प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुराउने चाहाना रहेको अध्यक्ष नेपालको भनाई छ । बैशाखमा निर्वाचन नहुने उनले बताए । प्रतिनिधि सभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए । आफुहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कमयुनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उनहाँको भनाई छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उन ले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाए । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उनको भनाई छ ।

ओलीले मदन भण्डारी फाउन्डेशन मार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उनले बताए । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफुहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाई छ ।

अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनुपर्ने जिम्मेवारी रहेको बताए । संगठित गराएर पार्टीलाई धारिलो र गतिशिल बनाउन उनले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराए ।

उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे  । प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उनी विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?