काठमाडौं । महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासंघ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ ।
महासंघको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज (बुधवार) संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिइन् ।
कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवर्द्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिइन् । सभाका अवसरमा महासंघको यस वर्षको उत्कृष्ट जिल्ला संघ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो । उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन छलफल सहित पारित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया