गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयमा निःशुल्क पुस्तक वितरण

RSS
0
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ ।

समाजसेवीत्रय दीपकुमार भण्डारी, डा. लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे ।

हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करिब छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

शिक्षाविद्समेत रहेका डा. आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।

नगरपालिकामा हिजो मंगलवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।

थुनुवाकक्षलाई पुस्तक

चितवन जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको थुनुवाकक्षका लागि पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पुस्तक हस्तान्तरण गरेको हो ।

महासंघले मंगलवार आफ्नो १६औँ स्थपना दिवसको अवसरमा कार्यालयमा एक कार्यक्रम गर्दै पुस्तक हस्तान्तरण गरेको हो । संस्थाले ४१३ थान पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किताब फाइदाजनक हुने बताए । किताबको पूर्ण सदुपयोग हुने उनले विश्वास व्यक्त गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने संस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताए । यस्तै महासंघका वाग्मती प्रदेश अध्यक्ष किरणकुमार खनालले थुनुवाकक्षमा रहेका व्यक्तिलाई किताबमार्फत असल बाटोमा हिँड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताए ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले हिरासतमा रहेका व्यक्तिका लागि पढ्ने व्यवस्था गर्ने जानकारी दिए । गुरुङले पछिल्लो समयमा अपराधका घटना बढ्दै जाँदा कानूनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरी सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताए । जिल्ला प्रहरी कार्यलय चितवनमा ८० थुनुवा अटाउने हिरासतकक्ष रहेको छ भने हाल ५२ विभिन्न मुद्दा खेपिरहेका आरोपित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?