काठमाडौं । गत सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।
पटक पटक नेपालको विषयमा आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्यूजले अहिले फेरि नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिनुपर्ने बताएका हुन् । हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने’, चौधरीले भने ।
सन् १८५२ मा राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको भन्दै उनले सगरमाथाको नाम समेत उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।
यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।
त्यसप्रति आफ्नो प्रतिक्रिया जनाउँदै चौधरीले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया